न्युजिल्याण्डमा Zip को किस्ताबन्दी सेवा बन्द हुँदै – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा Zip को किस्ताबन्दी सेवा बन्द हुँदै

   July 17, 2026  

Buy Now, Pay Later सेवा प्रदान गर्दै आएको जीपले न्युजिल्याण्डमा आफ्नो किस्ताबन्दी सेवा बन्द गर्ने घोषणा गरेको छ।

कम्पनीले ग्राहकहरूलाई पठाएको सूचनाअनुसार अगस्टको मध्यदेखि जीप खाताको क्रेडिट सीमा शून्यमा झारिनेछ। त्यसपछि ग्राहकहरूले यस सेवामार्फत नयाँ खरिद गर्न सक्ने छैनन्।

यद्यपि, हाल किस्ताबन्दीमा तिर्दै आएका रकम भने यथावत रहनेछन् र ती भुक्तानीहरू पहिलेको तालिकाअनुसार जारी रहने कम्पनीले जनाएको छ।

अष्ट्रेलियन स्टक एक्सचेन्जमा जारी विज्ञप्तिमा जीपले आफ्नो व्यवसायको रणनीतिक समीक्षा पछि यो निर्णय गरिएको जनाएको छ।

कम्पनीका अनुसार अब आफ्नो लगानी र प्राथमिकता अष्ट्रेलिया र अमेरिकाको व्यवसायमा केन्द्रित गरिनेछ, जहाँ कम्पनीले बलियो व्यापारिक वृद्धि र नाफामूलक विस्तार हासिल गरिरहेको छ।

जीपले न्युजिल्याण्डमा कार्यरत आफ्ना कर्मचारी, ग्राहक, व्यापारी तथा व्यापारिक साझेदारहरूको योगदानको कदर गर्दै उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।