न्युजिल्याण्डमा धेरै क्षेत्रमा तीव्र हावा र भारी वर्षाको चेतावनी

47 Shares

न्युजिल्याण्डका धेरै क्षेत्रमा तीव्र हावा र भारी वर्षाको सम्भावना रहेकाले मानिसहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। मौसम पूर्वानुमानअनुसार ट्राम्पोलिनजस्ता हलुका वस्तुहरू मजबुत रूपमा बाँध्न तथा विशेषगरी क्याम्परभ्यान चलाउँदा सतर्क रहन सुझाव दिइएको छ।

मेटसर्भिसले साउथ आईल्याण्ड र नर्थ आईल्याण्ड दुवै आईल्याण्डका विभिन्न क्षेत्रका लागि हावा र वर्षासम्बन्धी चेतावनी तथा निगरानी सूचना जारी गरेको छ।

मौसमविद् एल्विन बक्करका अनुसार दक्षिणपश्चिमबाट लगातार मौसमी प्रणाली साउथ आईल्याण्ड तर्फ प्रवेश गरिरहेको छ, जसले भारी वर्षा र हावाको तीव्रतामा परिवर्तन ल्याउनेछ। आइतबारदेखि चिसो र निकै शक्तिशाली दक्षिणपश्चिमी हावा चल्ने अनुमान गरिएको छ।

आइतबार बिहानदेखि दिउँसोसम्म टारारुवा जिल्ला, वैरारापा, क्यान्टरबरी हाई कन्ट्री, वेलिङ्टन, मार्लबरो साउन्ड्स तथा गोरभन्दा दक्षिणी साउथल्याण्ड र स्टेवार्ट आइल्याण्डमा सुन्तला स्तरको तीव्र हावाको चेतावनी जारी गरिएको छ।

त्यस्तै, डुनेडिन र क्लुथा क्षेत्रमा पहेँलो स्तरको तीव्र हावाको निगरानी सूचना जारी गरिएको छ।

खुला तथा जोखिमयुक्त क्षेत्रमा, विशेषगरी साउथल्याण्डमा, हावाको गति प्रतिघण्टा १२० किलोमिटरसम्म पुग्न सक्ने बक्करले बताएका छन्।

उनले हावाले उडाउन सक्ने वस्तुहरू सुरक्षित गर्न, ट्राम्पोलिन बाँध्न तथा रूख र विद्युत् लाइनमा क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्न आग्रह गरेका छन्। शक्तिशाली हावाका कारण सवारी चलाउन पनि कठिन हुन सक्ने र विशेषगरी क्याम्परभ्यानजस्ता अग्ला सवारीसाधन बढी प्रभावित हुन सक्ने बताइएको छ।

सम्बन्धित समाचार

सबै