भिजिट भिसा मा न्युजिल्याण्ड पठाईदिने र काम लगाईदिने भन्दै नेपालका मेनपावर र केही व्यक्तीले मोटो रकम असुल्ने गरेको पाईएको छ ।
न्युजिल्याण्डमा दैनिक रुपमा नेपालीहरु भिजिट भिसामा आउने र काम पाउने आसले नेपालमा मोटो रकम मेनपावर र व्यक्तीगत रुपमा बुझाउने गरेको पाईएको हो । न्युजिल्याण्ड स्थित नेपाली अवैतनिक वाणिज्य दुतावासले भिजिट भिसामा न्युजिल्याण्ड आएर नेपाली कसैले पनि काम गर्न नपाउने स्पष्ट पारेको छ । न्युजिल्याण्डको टुरिष्ट अर्थात भिजिट भिसाको नियम अनुसार भिजिट भिसामा आउने जो कोहीले काम गरेको पाईएमा गैरकानुनी मानिन्छ । तर नेपालका केही मेनपावर, कन्सल्टेन्सी र व्यक्तीहरुले भिजिट भिसामा न्युजिल्याण्ड गएर केही महिनामा वर्क भिसा अर्थात काम गर्ने भिसामा परिवर्तन गर्न मिल्छ भन्दै गलत सुचना दिने गरेको र मोटो रकम असुल्ने गरेको पाईएको हो । तर यथार्थमा भने यो भ्रम हो र भिजिट भिसामा आउनेलेले न्युजिल्याण्डमा काम गर्ने भिसा पाउन भने सजिलो छैन । न्युजिल्याण्डको सरकारद्वारा मान्यता प्राप्त कम्पनीले भिजिट भिसामा आउनेलाई स्पोन्सर गर्न अर्थात कामको लागि राख्न सक्छ तर त्यस्को लागि न्युजिल्याण्ड ईमिग्रेशनले केही कडा नियम तथा कैफियतहरु राखेको छ । भिजिटमा न्युजिल्याण्ड आएर काम गर्नका लागि वर्क भिसाको आवश्यकता पर्छ र न्युजिल्याण्ड आएपछि त्यो पाउन नेपालमा भने जस्तो सजिलो भने छैन । असम्भव नभएपनि नेपालमा भने सजिलै वर्क भिसा पाईने र काम गर्न मिल्ने भन्दै बिभिन्न मेनपावर तथा व्यक्तीहरुले मोटो रकम लिएर नेपालीको भिजिट भिसा लगाईदिने गरेको छ । अवैतनिक वाणिज्य दुतावासले दिन दिनै ठगिनेको संख्या बढ्दो क्रममा रहेको भन्दै भिजिट भिसामा न्युजिल्याण्ड आउने र काम पाउने भन्ने कुरामा विश्वास नगर्न सेमत अनुरोध गरेको छ ।