न्युजिल्याण्डमा थप एक जनामा मंकीपक्सको संक्रमण, के हो मंकीपक्स ? कसरी सर्छ ? – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डमा थप एक जनामा मंकीपक्सको संक्रमण, के हो मंकीपक्स ? कसरी सर्छ ?

   September 10, 2024  

न्युजिल्याण्डमा थप एक जनामा मंकीपक्सको संक्रमण देखा परेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित साउथ आईल्याण्डको कुईन्सटाउनमा भेटिएको हो ।
यो सँगै न्युजिल्याण्डमा मंकीपक्सबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ । सन् २०२४ यता मात्र ५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
न्युजिल्याण्डमा पहिलो पटक मंकीपक्सको संक्रमण सन् २०२२ जुनमा देखा परेको थियो ।

के हो मंकीपक्स ?

मंकीपक्स सन १९५८ मा बाँदर प्रजातिमा पहिलो पटक देखिएको थियो। यो हेर्दा बिफर (small pox), ठेउला (chicken pox) जस्तो देखिने रोग हो। यो मंकीपक्स भन्ने भाइरस ले गराउछ जुन western african strain  र central African stain गरी दुई प्रकार को हुन्छ। यो अफ्रिकी मुलुकमा १९७० देखी नै देखिराखेको भाइरस हो।  त्यो बेलादेखि २०१७ सम्म सोही मुलुकहरुमा पटक पटक आउट्ब्रेक  भएको देखिन्छ। सन २००३ मा मात्र यो पहिलो पटक आफ्रिकी मुलुक बाहिर अमेरिकामा देखियो। मंकीपक्स (Monkeypox) अथवा एमपक्स (Mpox) एक भाइरल रोग हो जुन मंकीपक्स भाइरस (Monkeypox Virus) ले गर्दा मावनजाति तथा केहि अरु प्राणिमा लाग्ने गर्दछ । यस भाइरसका दुई प्रजाति छन । क्लेड १ (Clade -I) र क्लेड २ (Clade -II) । यो भाइरस बिफर(Smallpox) गराउने भाइरससंग मिल्दोजुल्दो हुन्छ । यस भाइरस सन १९५८ मा बाँदरमा फेला परेको थियो भने मानिसमा पहिलोपटक १९७० मा संक्रमण भेटिएको थियो । सन १९८० मा बिफर (Smallpox) उल्मुलन भएर खोप लगाउन बन्द भएपछि अफ्रिकामा बिस्तारै मंकीपक्स देखा पर्न थालेको थियो ।अफ्रिकाका साना स्तनधारि जनावर जस्तै बाँदर,मुसा, लोखर्केमा यो भाइरस भेटिएको उल्लेख छ । सन २००३ मा अमेरिकामा निर्यात गरिएको जंगली जनावरहरुबाट संक्रमणहरु फैलिएको थियो । त्यसयता बर्षेनी प्रजातान्त्रिक गणतन्त्र कंगो मा कैयौं संक्रमणहरु भेटिने गरेको छ । सन २०२२ को मेइमा यूरोपबाट सूरु भएको यो माहामारी अमेरिका तथा अन्य विभिन्न मुलुकहरुमा फैलिएको छ जसको यस भाइरसको प्रजाती क्लेड २ (Clade -II) कारक रहेको छ । त्यस्तै सुडानमा सरणार्थीहरुमा देखिएको संक्रमण भने क्लेड १ (Clade -I) को कारण रहेको छ ।

 

 

कसरी सर्छ ?
मंकीपक्सको संक्रमणले शरीरमा घाउखटिरा आउने गर्छ । यस्ता घाउखटिरामा हुने संक्रमित पदार्थको सम्पर्कमा आउदा उक्त भाइरस एकदेखि अर्कामा सर्ने गर्छ ।

संक्रमण फैलिने माध्यममा स्पर्स गर्ने, चुम्बन तथा यौन सम्पर्क आदि पर्छन । त्यस्तै स्वासप्रस्वासको माध्यमबाट, बोल्दा, खोक्दा पनि एकअर्कामा सर्ने गरेको छ । एउटै सामान तथा कपडाको प्रयोग गर्दा पनि सर्नसक्ने सम्भावना रहन्छ ।

संक्रमित जनावरहरुको मासु खाँदा, सिकार गर्दा, जनावरले टोक्दा वा चिथोर्दा पनि सर्न सक्ने सम्भावना रहेको छ । अहिलेको महामारी यौनसम्पर्क प्रमुख माध्यम रहेको पाइएको छ र यो रोग फैलिनुमा यौनकर्मीको प्रमुख भुमिका पाइएको छ ।

लक्षणहरु के के हुन ?
मंकीपक्सको संक्रमणको १ देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्छन । प्रायमा एक हप्ताभित्रमा लक्षण देखिन्छन र २ देखि ४ हप्तासम्म रहि रहन्छन । रोग प्रतिरोधात्मक क्षमता कम भएकामा भने लामो समयसम्म लक्षण देखापर्न सक्छन । यस अवधिपछि भने रोग बिस्तारै निको हुदै जान्छ ।

लक्षणहरुमा,  डाबर आउनु, ज्वरो, घाँटी दुख्ने, टाउको दुख्ने, मांसपेसी दुख्ने, ढाड दुख्ने, थकान हुने, ग्रन्थी सुन्निने आदि हुन । सुरुमा देखिने डाबर बिस्तारै बढदै गएर फोका उठने, चिलाउने, दुख्ने हुनसक्छ । कसैमा थोरै तथा कसैमा सयौं खटिराहरु आउन सक्छ । खटिरा शरीरको जुनसुकै भागमा आउन सक्ने तर प्राय हातखुट्टा, अनुहार, मुख, घाँटी तथा तिघ्राको भित्रि भागमा बढी देखिन्छ ।

प्रायमा सुरुमा ज्वरो, मांसपेसी दुख्ने तथा घाँटी दुख्ने हुन्छ र पछि अनुहारबाट डाबर आउन सुरु हुन्छ । डाबर शरीरभरि फैलिन्छ र फोकामा परिणत हुन्छ । फोका फुटेर खटिरा बन्छ र निको हुदै गर्दा खटिरा झरेर जान्छ । सबै खटिरा हराउदासम्म संक्रमित ब्यक्तिले रोग अन्यमा सार्न सक्छ ।

गर्भवती, बालबच्चा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिमा भने जटिलताहरुमा उत्पन्न हुने जोखिम बढी हुन्छ । जटिलताहरुमा अरु संक्रमणको सम्भावना, न्युमोनिया, एन्सेफलाइटिस, आँखाको ज्योती गुम्ने आदि हुनसक्छ । साथै गर्भवतीको बच्चा खेर जाने हुनसक्छ ।

परीक्षण तथा उपचार के छ ?

मंकीपक्सका लक्षणहरु अरु संक्रमणहरु जस्तै ठेउला (Chichenpox), लुतो (Scabies), दादुरा (Measles) आदिसंग मेलखाने भएकोले छुटयाउन गाहो हुन्छ ।

यसको परिक्षणको लागि घाउखटिरा, फोका तथा नाकमुख, घाँटी आदिको स्वाब (Swab)लिएर भाइरसको पी.सी.आर. प्रणालीबाट जाँच गरिन्छ ।

मंकीपक्सको उपचार लक्षणहरु केन्द्रीत हुन्छ ।

संक्रमण हुदैमा अस्पताल जानुपर्ने जरुरी  हुँदैन । संक्रमण भएपछि सकेसम्म घरमा आफ्नो कोठामा बस्नुपर्छ । अरुसंग सम्पर्कमा नआउने, आफ्नो सामान तथा कपडा तथा अरुलाई चलाउन नदिने, मास्क लगाउने, साबुन पानीले बेलाबेला हात धुने, छाला सुख्खा र खुला छोड्ने आदि गर्न सकिन्छ ।

त्यस्तै प्रसस्त पानी पिउने, स्वास्थ खाना खाने र दुःखाइ र ज्वरोको लागि सिटामोल जस्ता औषधि खान सकिन्छ ।

त्यस्तै फोका फुटाउने कोट्याउने भने गर्नुहुदैन ।

अन्य ब्यक्तिहरुको नजिक हुदा मास्क लगाउने तथा खटिराहरु छोप्नाले रोग सर्ने जोखिम कम हुन्छ । लक्षणहरु धेरै बढ्दा वा थप जटिलता देखा परेमा भने नजिकैको स्वास्थसंस्थामा तुरुन्त सम्पर्क गर्न जरुरी हुन्छ ।

रोकथाम कसरी गर्ने ?

पहिले बिफरको लागि उत्पादन भएको खोप MVA-BN अहिले मंकीपक्सको रोकथाममा प्रयोगमा आएकोछ । यो खोप संक्रमणको उच्च जोखिममा रहेका तथा तत्कालै संक्रमित ब्यक्तिलाई दिइने गरेको छ ।

संक्रमित ब्यक्तिको सम्पर्कमा आएको ४ दिनसम्ममा खोप लगाउन विश्व स्वास्थ संगठनले सल्लाह दिएको छ ।

त्यस्तै पहिले बिफरमा प्रयोग हुने एन्टीभाइरल जस्तै टेकोभाइरिम्याट (Tecovirimat) पनि एमपक्सको उपचारमा प्रयोग गर्ने गरिएको छ । यसैगरि संक्रमण भइसकेपछि आइसोलेशन बसेर रोगको संक्रमण कम गर्न सकिन्छ ।

अहिलेसम्म नेपाली नागरिकमा संक्रमण पुष्टि भएको छैन तरपनि यो रोग लागेको छैन भनेर ढुक्क हुने अवस्था छैन । सरकारले रोगको परीक्षणका लागि केन्द्रहरु छुट्याएर उपचार गराउने आधिकारिक स्थानहरुको निरक्यौल गर्न जरुरी छ ।

यस रोगले उग्र रुप लिनु अगावै सरकारले उचित उपायहरु अपनाएर यस रोगको संक्रमण रोक्न परीक्षण तथा उपचारमा ध्यान दिन जरुरी हुन्छ । त्यसैगरि बिभिन्न संचारमाध्यम मार्फत अथवा अन्य निकाय मार्फत यस रोगको बारेमा जानकारी र रोकाथामबारे जागरुकता गराउन जरुरी देखिन्छ ।