जीवन र मृत्युसँग लामो संघर्षपछि अन्ततः न्युजिल्याण्डमा अस्ताए पोखराका दिपेश – New Zealand News Nepal (NZ News Nepal)

जीवन र मृत्युसँग लामो संघर्षपछि अन्ततः न्युजिल्याण्डमा अस्ताए पोखराका दिपेश

   October 9, 2025  

गत मे महिनामा न्युजिल्याण्डको रोटोरुवा नजिक भएको कार दुर्घटनामा गम्भीर घाइते भएका नेपाली युवा दिपेश शर्मा काफ्लेको निधन भएको छ। लामो समयदेखि उपचाररत काफ्लेको सेप्टेम्बर २८ का दिन अकल्यान्डस्थित वाइटाकेरे अस्पतालमा निधन भएको  हो ।

गत मे १४ मा बिहानै सवा ९ बजे भएको दुर्घटनामा ट्रक र कार एकआपसमा ठोक्किँदा दिपेश गम्भीर रूपमा घाइते भएका थिए। जीवन र मृत्युसँग लामो संघर्षपछि उपचारकै क्रममा उनको निधन भएको हो ।

पढाइको सिलसिलामा न्युजिल्याण्ड आएका २२ वर्षीय दिपेश टौराङ्गा बस्दै आएका थिए। उनी दुर्घटनामा परेपछि प्रहरीले उद्धार गरी Waikato अस्पताल लगेको थियो। त्यहाँ केही समय उनको  ICU मा  उपचार गरियो। थप उपचारका लागि उनी अकल्यान्डस्थित वाइटाकेरे अस्पतालमा भर्ना भएका थिए।

नेपालको स्याङ्जा जिल्ला, अर्जुनचौपारी घर भएका काफ्ले र उनका परिवार पछिल्ला वर्षहरूमा पोखरामा बसोबास गर्दै आएका थिए। दिपेश गत वर्षमात्रै न्युजिल्याण्ड आएका थिए र उनी परिवारको एक मात्र सन्तान रहेका थिए।

दुर्घटनापछि केही समयमै उनका परिवार न्युजिल्याण्ड आएका थिए र उपचारका क्रममा निरन्तर साथ दिइरहेका थिए।

त्यस्तै, गत साता बुधबार ह्यामिल्टनमा आयोजित विशेष श्रद्धाञ्जली सभामा परिवार, साथीभाइ तथा न्युजिल्याण्डमा रहेका नेपाली समुदायले उनलाई अन्तिम बिदाई गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिव शरीर नेपाल पठाइएको थियो। दिपेश र उनका परिवार शनिबार बिहान नेपाल पुगेका छन्, र पोखरामा परिवार तथा आफन्तको उपस्थितिमा अन्तिम संस्कार सम्पन्न गरिने बताइएको छ।

यो दुःखद घटनाले न्युजिल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ।

हाम्रो तर्फबाट दिपेश शर्मा काफ्लेलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।