अष्ट्रेलियास्थित नेपाली दूतावासले न्युजिल्याण्डमा रहेका नेपाली नागरिकहरूका लागि आउँदो जुन महिनामा घुम्ती राहदानी (पासपोर्ट) नविकरण सेवा प्रदान गर्ने भएको छ। न्युजिल्याण्डस्थित नेपाली वाणिज्य दूतावासको कार्यालयले दिएको जानकारी अनुसार, न्युजिल्याण्डका केही प्रमुख शहरहरूमा राहदानी नविकरण सेवाका लागि दूतावासले विशेष टोली पठाउने तयारी गरेको छ। यस सेवाबाट हाल राहदानीको म्याद समाप्त भइसकेका वा निकट भविष्यमा सकिँदै गरेका नेपाली नागरिकहरूले लाभ लिन सक्नेछन्। राहदानी नविकरण सेवामा सहभागी हुन इच्छुक व्यक्तिहरूले आफ्नो नाम र आफूलाई पायक पर्ने शहर/स्थानको नाम टिपाई दिनु पर्नेछ। दिइएको जानकारीको आधारमा सहभागीहरूलाई ईमेलमार्फत आवेदन फारम, बायोमेट्रिक विवरण दिने मिति, समय र स्थान, साथै आवेदन शुल्क सम्बन्धी सम्पूर्ण जानकारी पठाइने जनाइएको छ। यो अवसर सबै नेपाली नागरिकहरूका लागि अत्यन्त उपयोगी हुने भएकोले इच्छुकहरूलाई समयमै आवश्यक विवरण टिपाई दिन अनुरोध गरिएको छ।