न्यूजील्याण्डमा नेपाली जनसम्पर्क समितिको अधिवेशन नजिकिँदै, सदस्यता अभियान तीव्र – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा नेपाली जनसम्पर्क समितिको अधिवेशन नजिकिँदै, सदस्यता अभियान तीव्र

   June 12, 2025  

नेपाली जनसम्पर्क समिति न्यूजील्याण्डले आसन्न अधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता संकलन अभियान सुरु गरेको छ। संगठनलाई संस्थागत रूपमा मजबुत बनाउने र लोकतान्त्रिक प्रक्रिया सुदृढ पार्ने उद्देश्यका साथ यो अभियान अघि बढाइएको हो।

समितिका सभापति बुद्धि सागरले प्रवासी नेपालीहरूको साझा संगठनलाई अझ सशक्त बनाउन सबैको सहभागिता अपरिहार्य रहेको बताउँदै, “अधिवेशन सफल पार्न क्रियाशील सदस्यता फारम भरी सहभागिता जनाउनु आजको आवश्यकता हो,” भन्ने धारणा व्यक्त गरे।

नेविसंघ केन्द्रीय सदस्य रोशन श्रेष्ठले नेपाली काँग्रेसप्रति आस्था राख्ने प्रवासी नेपालीहरूले संगठनप्रति जिम्मेवार बन्नुपर्ने समय आएको उल्लेख गरे। “जनसम्पर्क समितिको अधिवेशन साझा आवाजलाई एउटै ढाँचामा ल्याउने अवसर हो,” उनले भने, “सदस्यता फारममार्फत लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ पार्न सकिन्छ।”

यसैगरी, शंकरदेव क्याम्पसका स्ववियु सदस्य सुलभ हमालले युवाहरूको भूमिकालाई विशेष रूपमा जोड दिंदै भने, “प्रवासी भूमिमा युवाको सक्रियता पार्टीको भविष्य निर्माणमा सहायक हुन्छ। हामी सबै मिलेर अधिवेशन सफल बनाऔं।”

सदस्यता संकलन प्रक्रिया सम्बन्धित संयोजक वा प्रतिनिधिहरूमार्फत अघि बढ्ने जनाइएको छ। अधिवेशनको मिति र विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने पनि समितिले जानकारी दिएको छ।