अर्को वर्ष अकल्यान्डमा ‘इन्डियन फिल्म फेस्टिवल’ आयोजना हुने, बलिउड कलाकार सहभागी हुने – New Zealand News Nepal (NZ News Nepal)

अर्को वर्ष अकल्यान्डमा ‘इन्डियन फिल्म फेस्टिवल’ आयोजना हुने, बलिउड कलाकार सहभागी हुने

   September 27, 2025  

आगामी वर्ष अकल्यान्डमा भारतीय चलचित्र महोत्सव (Indian Film Festival) आयोजना हुने भएको छ। आयोजकहरूले यसलाई भारतीय चलचित्रको उत्सवसँगै न्युजिल्याण्ड र भारतबीचको चलचित्र उद्योग सहकार्यलाई अझ गहिरो बनाउने अवसरका रूपमा लिएका छन्।

भारत–न्युजिल्याण्डको चलचित्र सहकार्यको इतिहास करिब तीन दशक लामो छ। १९९० र २००० को सुरुवाती दशकमा न्युजिल्याण्डमा सयभन्दा बढी भारतीय चलचित्रको छायांकन भएको थियो। १९९५ मा ‘सनम हरजाई’ पहिलो पटक यहाँ छायांकन भएको भारतीय चलचित्र मानिन्छ। तर २००० को हिट चलचित्र ‘कहो ना… प्यार है’ (ऋतिक रोशन अभिनीत) ले न्युजिल्याण्डलाई बलिउडका लागि प्रमुख गन्तव्यको बाटो खोलेको थियो। त्यसयता पनि न्युजिल्याण्डमा विभिन्न भारतीय चलचित्रहरूको छायांकन भइरहेकै छ।

यो पनि पढ्नुहोस्: न्युजिल्याण्डमा सुटिङ भएका बलिवुड चलचित्रहरु


चलचित्र ‘कहो ना… प्यार है’को २५औं वार्षिकोत्सवको अवसरमा नोभेम्बर ५ मा सिल्भिया पार्कमा विशेष प्रदर्शन आयोजना गरिनेछ, जसमा बलिउड निर्देशक तथा कोरियोग्राफर फराह खानको उपस्थिति रहनेछ।

आगामी वर्षको भारतीय चलचित्र महोत्सव भने अक्टोबरमा आयोजना हुने तयारी भइरहेको छ। महोत्सवमा बलिउडका चर्चित कलाकारहरू सहभागी हुने अपेक्षा गरिएको आयोजकहरूले जनाएका छन्।