न्यूजील्याण्डमा दादुरा संक्रमण बढ्दै, संक्रमितको संख्या १३ पुग्यो – New Zealand News Nepal (NZ News Nepal)

न्यूजील्याण्डमा दादुरा संक्रमण बढ्दै, संक्रमितको संख्या १३ पुग्यो

   October 30, 2025  

न्यूजील्याण्डमा दादुरा (Measles) संक्रमणका दुई नयाँ केस पुष्टि भएका छन्, जससँगै देशभर कुल संक्रमितको संख्या १३ पुगेको स्वास्थ्य निकायहरूले जनाएका छन्।

अकल्याण्डमा थप दुई नयाँ केस पुष्टि भएका छन्। तीमध्ये पहिलो केस पहिले नै पहिचान गरिएको संक्रमितको नजिकको सम्पर्कमा आएको व्यक्ति भएको बताइएको छ। दोस्रो केस पनि अकल्याण्डकै हो, तर यस केसको हालसम्म अन्य कुनै संक्रमितसँग सम्बन्ध भेटिएको छैन। त्यसैगरी, अक्टोबर ३ तारिखमा ब्लूब्रिज फेरी (Bluebridge Ferry) मा यात्रा गरेका सात जना व्यक्तिहरूमा संक्रमणको सम्बन्ध भेटिएको छ।

हेल्थ न्युजील्याण्ड (Health NZ) का डा. निक चेम्बरले पत्रकारहरूसँगको भेटमा अहिलेसम्म २१४२ जना संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू पहिचान गरिएको जानकारी दिएका छन्। चेम्बरले देश हाल पनि दादुराको प्रकोपको प्रारम्भिक चरणमा रहेको बताएका छन्।

सार्वजनिक स्वास्थ्य निर्देशक कोरिना ग्रे (Corina Grey) ले केही संक्रमितहरूलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको जानकारी दिएकी छन्।

स्वास्थ्य विज्ञहरूले जनस्वास्थ्य जोखिम बढ्दै गएकाले दादुरा खोप नलिएका व्यक्तिहरूलाई तुरुन्तै खोप लगाउन आग्रह गरेका छन्।