माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्दै एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकिएको छ । बुधबारदेखि सुरु भएको बैठकमा बहुमत केन्द्रीय सदस्यले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन् ।
अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँगको एकता प्रस्तावलाई बैठकमा बहुमत सदस्यले ताली बजाएर अनुमोदन गरे । एकीकृत समाजवादीले माओवादीसँगै महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी (नेसपा) सँग पनि एकता गर्ने निर्णय गरेको छ ।
समाजवादीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यास भूसाल, नेताहरू विजय पौडेल, रामझाँक्री लगायतले माओवादीसँगको एकताको विरोध गरिरहेका छन् ।
अध्यक्ष नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन् । आज सकिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए । खनालले भने भिन्न मत समेत राख्न पाएनन् । बैठक सकिएपछि खनालले अब अर्को पार्टी गठन गर्ने बताए । ‘एमालेसँगको विद्रोहका औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो’ उनले भने, ‘पार्टीलाई विसर्जन गरियो ।’ उनले एमालेले गरेको घर फिर्तिको आह्वानलाई सकारात्मक रुपमा लिएको बताए । एमालेमा जाने विषयबारे उनले पार्टीको नीति सिद्धान्तमा सहमति हुनुपर्ने उल्लेख गरे ।


