न्यूजील्याण्डमा बिहीबार दादुराका नयाँ संक्रमित पुष्टि नभएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। यद्यपि, पहिले पुष्टि भएका केससँग नजिक सम्पर्कमा आएका १६ व्यक्तिमा लक्षण देखिएको हुँदा प्रकोप अझ फैलिन सक्ने चेतावनी Health New Zealand ले दिएको छ। हालसम्म देशभर दादुरा प्रकोपमा पुष्टि भएका कुल संक्रमितको संख्या १७ पुगेको छ। यस प्रकोपका कारण अहिलेसम्म २१० सम्भावित जोखिमपूर्ण घटना पहिचान गरिएका छन्, जसमा १२२ घटना अझै निगरानीमा रहेका छन्। Health New Zealand का अनुसार लक्षण देखिएका १६ व्यक्तिहरूको परीक्षण र स्वास्थ्य अवस्था निरन्तर निगरानीमा राखिएको छ। केहीमा संक्रमण पुष्टि भएमा कुल केस संख्या अझ बढ्ने सम्भावना रहेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन्। सार्वजनिक स्वास्थ्य निर्देशक डा. निक चेम्बर ले खोपलाई दादुरा रोकथामको सबैभन्दा प्रभावकारी उपाय ठहराउँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। उनका अनुसार, “खोप लगाउनु दादुरा फैलिन नदिनको सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो। खोप नलगाएकाले यथाशीघ्र खोप लगाउनुपर्छ।” स्वास्थ्य अधिकारीहरूले दादुरा अत्यन्त छिटो फैलिन सक्ने संक्रामक रोग भएकाले हल्का लक्षण देखिए पनि तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न र भीडभाड भएका स्थानमा अनावश्यक जमघट नगर्न सुझाव दिएका छन्।


