न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो सिजनको लागि निसमलाई अनुबन्ध गरेको जनाएको छ । पोखराले शुक्रबार बिहानै चौथो विदेशी खेलाडीको रुपमा निसमलाई अनुबन्ध गरेको घोषणा गरेको हो ।
पहिलो सिजनमा च्याम्पियन बनेको जनकपुर बोल्ट्सबाट खेलेका निशमले दोस्रो सिजन अर्को फ्रेन्चाइजबाट खेल्ने भएका हुन् ।
उनले जनकपुर बोल्ट्सलाई पहिलो सिजनको उपाधि दिलाउन ब्याट र बल दुवैमा अलराउण्ड प्रदर्शन गरेका थिए ।
३५ वर्षीय अलराउण्डर निसम टेष्ट राष्ट्रबाट अनुबन्ध हुने ठूला नाममध्येमा पर्छन् । यस्तै एनपीएल २०२५ का लागि अनुबन्ध हुने उनी न्युजिल्याण्डका तेस्रो खेलाडी हुन् । यसअघि विराटनगर किंग्सले मार्टिन गप्टिल र सुदूरपश्चिम रोएल्सले स्कट कुगेलेइनलाई अनुबन्ध गरिसकेको छ । तीनै खेलाडी लगातार दोस्रो सिजन एनपीएल खेल्न आउँदैछन् । त्यसमा गप्टिल र कुगेलेइन पहिलो सिजनकै क्लबमा निरन्तरता पाउदा निशम फरक टिममा पुगेका हुन् ।
केही दिनअघि निशमले एक भिडियो सार्वजनिक गर्दै आफूले यस सिजन जनकपुर बोल्ट्सबाट खेल्न नपाउने बताएका थिए ।
निसमले न्युजिल्याण्डका लागि १२ टेष्ट, ७६ ओडीआई र ९३ टी-२० आई खेलेका छन् ।
उनले टी२०आईमा १४९.६२ को स्ट्रारेटमा १ हजार १० रन बनाएका छन् । जसमा उनको व्यक्तिगत उच्च स्कोर अविजित ४८ रन हो । यस्तै बलिङमा टी२०आईमा ५६ विकेट लिएका छन् । जसमा उनको उत्कृष्ट प्रदर्शन ५/२२ रहेको छ ।
विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)देखि विश्वका विभिन्न फ्रेन्चाइज लिगहरु समेत खेलेको अनुभव छ । उनले आईपीएलमा दिल्ली, पञ्जाव, मुम्बई र राजस्थानबाट खेलेका छन् भने ६ फरक टिमबाट इंग्ल्याण्डको भाइटालिटी ब्लास्ट खेलेको अनुभव छ ।
यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, एसए२०, हन्ड्रेड क्रिकेट लगायत खेलेका छन् ।
उनले सबैखाले टी२० मा गरी ३१९ खेलमा ४ हजार ४९६ रन बनाएका छन् भने २६९ विकेट लिएका छन् ।
सन् २०१९ को वानडे विश्वकप र २०२१ को टी२० विश्वकपमा न्युजिल्याण्ड उपविजेता बन्दा निशम टिमको सदस्य थिए । यस्तै निशमले २०२४ मा अमेरिका र वेष्टइन्डिजमा भएको टी२० विश्वकप पनि खेलेका थिए ।
टी२० विश्वकप पछि उनले यसै वर्ष मार्चमा टी२० टिममा पुनरागमन गरेका थिए । त्यसपछि ब्याटिङमा खासै अवसर बनाएपनि उनले बलिङमा गज्जब गरेका छन् । पाकिस्तान विरुद्ध मार्चमा उनले एकै खेलमा ५ विकेट लिएका थिए ।
उनले पछिल्लो पटक यही नोभेम्बरमा १३ मा वेष्ट इन्डिज विरुद्ध घरेलु मैदानमा खेलेका थिए । जसमा उनले २ विकेट लिएका थिए ।
निसमको आगमनपछि पोखरा एभेन्जर्सको टिम उत्साहित बनेको छ । उनको आगमनले ब्याटिङ र बलिङ दुवैमा फाइदा पुग्ने पोखरा एभेन्जर्सको विश्वास छ ।
कुशल भुर्तेल मार्की रहेको पोखराले यसअघि नै मिडियम पेस बलिङ अलराउण्डर रेमन रेइपर र डान डौथवेइटलाई अनुबन्ध गरिसकेको छ । यस्तै इंग्लिस विकेटकिपर ब्याटर एडम रोसिङ्गटनलाई पनि अनुबन्ध गरेको छ ।


