नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारी तीव्र बन्दै गइरहेकै बेला तीन जना न्युजिल्याण्डका अन्तर्राष्ट्रिय क्रिकेटर यस वर्ष पनि प्रतियोगितामा सहभागी हुने पक्का भएको छ। बिराटनगर किङ्सका मार्टिन गुप्टिल, पोखरा एभेन्जर्सका जिमी निसेम र सुदूरपश्चिम रोयल्सका स्कट कूगलेजिन पुनः एनपीएलका लागि अनुबन्धित भएका हुन्। अन्तर्राष्ट्रिय स्तरमा जमेकाहरू यी तीन खेलाडीको सहभागिताले आगामी सिजन अझ आकर्षक र प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।
बिराटनगर किङ्सका लागि खेल्न न्युजिल्याण्डका ओपनर मार्टिन गप्टिल शनिबार काठमाडौं आइपुगेका छन्। गप्टिलले २०२४ को पहिलो एनपीएल सिजनमा बिराटनगर किङ्सबाट लिगको इतिहासमा पहिलो हाफ सेन्चुरी प्रहार गर्दै चर्चा बटुलेका थिए। उनले ६ खेलमा १३७ रन बनाएका थिए र त्यसपछि पनि किङ्सले उनलाई यो सिजन पुनः अनुबन्धन गरेको छ।
यसैबीच, गत वर्ष जनकपुर बोल्ट्सका लागि खेल्दै सिजन उपाधि जिताउन निर्णायक भूमिका खेलेका जिमी निसेम यसपटक पोखरा एभेञ्जर्सबाट मैदानमा झर्ने भएका छन्। उनले २०२४ मा २४७ रन र ७ विकेट सहित ‘अलराउन्ड’ प्रदर्शन पस्किएका थिए। उच्च स्ट्राइक रेट र दबाबमा उत्कृष्ट फिनिसिङ क्षमताका कारण निसेमलाई यो सिजन पोखराले मुख्य विदेशी खेलाडीको रूपमा अनुबन्धन गरेको छ, जसले उनीहरूको मध्यक्रम बलियो बनाउने अपेक्षा गरिएको छ।
यता सुदूरपश्चिम रोयल्सका लागि निरन्तर प्रभावशाली बन्न सफल स्कट कूगलेजिन यस वर्ष पनि सोही टिमबाटै खेल्नेछन्। उनले २०२४ मा १७ विकेट लिँदै लिगका शीर्ष विकेट–टेकरमध्ये एक बनेका थिए। उनको तेजगतिका बलिङ र नयाँ बलमा स्विङ निकाल्ने क्षमताले रोयल्सको बलिङ आक्रमणलाई गत वर्ष झैँ यसपटक पनि सशक्त बनाउने विश्वास गरिएको छ।
यी तीन न्युजिल्याण्डी खेलाडीले गत सिजन एनपीएलमा बलियो प्रभाव छाडेका थिए। गप्टिलको अनुभवी ब्याटिङ, निसमको विस्फोटक अलराउन्ड प्रदर्शन र कूगलेजिनको पेस आक्रमणले उनीहरूलाई दर्शकको मनपर्ने विदेशी खेलाडी बनाएको छ। २०२५ मा पनि उनीहरूका कारण फ्रेन्चाइजहरूबीच प्रतिस्पर्धा अझ चर्किने अनुमान गरिएको छ।


