ह्यामिल्टन विमानस्थलले यस वर्षको अन्त्यसम्ममा आफ्नो इतिहासकै सबैभन्दा व्यस्त महिना पूरा गर्ने अपेक्षा गरेको छ। डिसेम्बर १, २०२५ देखि ह्यामिल्टन–क्राइस्टचर्च रुटमा जेटस्टारको दैनिक जेट सेवा सुरु भएसँगै यात्रु संख्यामा उल्लेख्य वृद्धि भएको हो।
यसअघि सेप्टेम्बरमा एयर न्युजिल्यान्डले पनि सोही रुटमा पुनः जेट सेवा सुरु गरेको थियो। त्यसैगरी, जुलाईदेखि अन्तर्राष्ट्रिय उडानहरू सञ्चालनमा आएपछि ह्यामिल्टन विमानस्थलले आक्रामक विस्तारको वर्ष अनुभव गरिरहेको छ।
विमानस्थलले सन् २०२५ को डिसेम्बर महिनामा सन् २०२४ को तुलनामा करिब ६० प्रतिशत बढी यात्रु आवागमन हुने अपेक्षा गरेको छ।
ह्यामिल्टन विमानस्थलका प्रमुख कार्यकारी अधिकृत मार्क मोर्गनका अनुसार जेट सेवाहरू थपिँदा ह्यामिल्टन–क्राइस्टचर्च रुटमा मात्रै ७० प्रतिशतसम्म क्षमतामा वृद्धि भएको छ। ह्यामिल्टन र वेलिङ्टनबीच पनि उडानहरू सञ्चालनमा रहेको उल्लेख गर्दै उनले यसले उपभोक्ताका लागि निकै सकारात्मक फाइदा पुर्याएको बताए।


