कोभिड–१९ महामारीका कारण स्थगित भएको अकल्याण्ड–बैंकक सिधा हवाई सेवा करिब ६ वर्षपछि पुनः सुरु हुने भएको छ। Thai Airways ले यसै वर्षको अन्त्यतिर अकल्याण्ड र बैंककबीच दैनिक नन–स्टप उडान पुनः सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो।
महामारीअघि सन् २०१९ मा यो मार्गबाट थाइल्याण्ड, भारत र युरोपसहितका बजारबाट करिब ५० हजार पर्यटक न्युजील्याण्ड आएका थिए। पछिल्लो समय यात्रु माग पुनः बढ्दै गएको छ। नोभेम्बर २०२५ सम्मको एक वर्षमा करिब ४८ हजार न्युजील्याण्डवासी थाइल्याण्ड भ्रमणमा गएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतले बढी हो र महामारीअघिको स्तरमा फर्किएको देखिन्छ।
Auckland Airport की प्रमुख कार्यकारी Carrie Hurihanganui ले महामारीअघि तीन दशकभन्दा बढी समय सञ्चालनमा रहेको एयरलाइन्स पुनः फर्किनु विमानस्थलका लागि खुसीको विषय भएको बताइन्। “थाइल्याण्ड किवी यात्रुहरूका सबैभन्दा प्रिय गन्तव्यहरूमध्ये एक हो। अकल्याण्ड–बैंकक सिधा उडानले त्यो अनुभव अझ नजिक ल्याउँछ,” उनले भनिन्। उनका अनुसार यसले एशियाली हवाई सञ्जालसँग न्युजील्याण्डको सम्पर्क अझ बलियो बनाउनेछ।
थाइ एयरवेजका प्रमुख वाणिज्य अधिकृत Kittiphong Sansomboon ले यो सेवा दीर्घ दूरीको रणनीतिक विस्तार भएको उल्लेख गर्दै बैंककलाई दक्षिण–पूर्वी एशियाको प्रमुख हबका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए। यसले युरोप, एशिया र न्युजील्याण्डबीचको हवाई सम्पर्क पनि सहज बनाउने उनको भनाइ छ।
थाइल्याण्ड न्युजील्याण्डका लागि महत्वपूर्ण आगन्तुक बजारमध्ये एक हो। नोभेम्बर २०२५ सम्मको एक वर्षमा करिब २० हजार थाइ पर्यटक न्युजील्याण्ड आएका छन्। अकल्याण्ड विमानस्थलको अनुमान अनुसार दैनिक उडान निरन्तर भएमा वार्षिक २५० मिलियन डलरभन्दा बढी अतिरिक्त पर्यटक खर्च हुने अपेक्षा गरिएको छ।
पर्यटनसँगै यो मार्गले व्यापार र हवाई कार्गो क्षेत्रमा पनि टेवा पुर्याउने विश्वास गरिएको छ। डिसेम्बर २०२५ सम्मको एक वर्षमा दुई देशबीचको हवाई व्यापार ३६३.९ मिलियन डलर पुगेको छ। थाइ एयरवेजले उडान सुरु मिति, प्रयोग हुने विमान र टिकट बुकिङसम्बन्धी विवरण आगामी महिनाहरूमा सार्वजनिक गर्ने जनाएको छ।