भारत सरकारले न्युजिल्याण्डका लागि आफ्नो नयाँ उच्चायुक्तका रूपमा मुआनपुई सियावी लाई नियुक्त गरेको छ। नयाँ दिल्ली र वेलिङ्टनबीच द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने प्रयास भइरहेका बेला यो नियुक्ति गरिएको हो।
सन् २००५ ब्याचकी भारतीय विदेश सेवा (IFS) अधिकृत सियावी हाल नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा संयुक्त सचिवका रूपमा कार्यरत छिन्। उनी छिट्टै वेलिङ्टन पुगेर औपचारिक रूपमा पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ।
आफ्नो कूटनीतिक करिअरका क्रममा उनले दक्षिण कोरियास्थित भारतीय दूतावासमा प्रथम सचिव (राजनीतिक), जापानमा प्रथम सचिव (सूचना, शिक्षा तथा संस्कृति) र इजरायलमा काउन्सेलर (प्रेस, सूचना, संस्कृति तथा पर्यटन) का रूपमा जिम्मेवारी सम्हालेकी छन्। साथै, विदेश मन्त्रालयमा साइबर कूटनीति तथा नयाँ र उदीयमान रणनीतिक प्रविधिसम्बन्धी महत्वपूर्ण भूमिकामा समेत काम गरिसकेकी छन्। हाल उनी निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिला हेर्ने संयुक्त सचिवका रूपमा कार्यरत छिन्।
उत्कृष्ट प्रशिक्षार्थी अधिकृतका रूपमा उनले ‘एम्बासडर बिमल सान्याल स्मृति स्वर्ण पदक’ तथा उत्कृष्ट शोधप्रबन्धका लागि रजत पदक प्राप्त गरेकी थिइन्। साथै, २००५ ब्याचकै उत्कृष्ट प्रोबेशनरका रूपमा समेत सम्मानित भएकी थिइन्।
मिजोरम राज्यकी सियावीले सन् २०२२ देखि न्युजिल्याण्डमा कार्यरत उच्चायुक्त नीता भूषण को स्थान लिनेछिन्। नयाँ नेतृत्वसँगै भारत–न्युजिल्याण्ड सम्बन्ध अझ सशक्त र व्यापक बन्ने अपेक्षा गरिएको छ।


