बलिउडका लोकप्रिय गायक सोनु निगम आफ्नो बहुप्रतीक्षित सांगीतिक टुर “The Iconic Sonu Nigam Revolution Tour” लिएर न्युजिल्याण्ड आउँदै छन्। उक्त सांगीतिक कार्यक्रम न्युजिल्याण्डबाट सुरु भई अस्ट्रेलियाको पर्थमा पुगेर समापन हुने आयोजकले जानकारी दिएका छन्।
टुर अन्तर्गत अक्टोबर २ तारिख मा न्युजिल्याण्डको अकल्याण्डमा सोनु निगमले विशेष प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। अकल्याण्डमा हुने कन्सर्टमा उनका चर्चित तथा सदाबहार गीतहरू प्रत्यक्ष सुन्न पाइने छ।
अकल्याण्डको प्रस्तुति लगत्तै भोलिपल्ट अस्ट्रेलियाको सिड्नीमा कन्सर्ट आयोजना गरिनेछ। त्यसपछि उनले अस्ट्रेलियाका अन्य प्रमुख सहरहरू मेलबर्न, ब्रिस्बेन, एडिलेड र पर्थमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।
सोनु निगमका हिट गीतहरूले विश्वभर ठूलो लोकप्रियता कमाएका छन्। न्युजिल्याण्ड र अस्ट्रेलियामा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो सांगीतिक टुर विशेष आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ।


