लोकप्रिय नेपाली ब्याण्ड नेपथ्यको अकल्याण्डमा मे १० तारिखमा आयोजना हुन लागेको कन्सर्टका लागि ‘वेट लिस्ट’ पहिलो दिनमै उत्साहजनक देखिएको छ। आयोजकका अनुसार वेट लिस्ट खुलाइएको पहिलो दिनमै ५ सयभन्दा बढी संगीतप्रेमीले आफ्नो नाम दर्ता गराएका छन्।
आयोजक संस्था लाखे ईभेन्ट्स ले जानकारी दिँदै दर्शकको अत्यधिक चासोका कारण टिकट सार्वजनिक गर्नु अघि नै वेट लिस्ट खोलिएको जनाएको छ। वेटलिस्टमा सहभागी हुनेहरूले अनलाइन टिकटमा प्रारम्भिक पहुँच, विशेष छुट मूल्यमा टिकट खरिद गर्ने अवसर तथा अरूभन्दा पहिले आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्राप्त गर्नेछन्।
नेपथ्याका मुख्य गायक अमृत गुरुङसहितको टोलीले आफ्ना चर्चित तथा लोकधुनमा आधारित गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। विगतका अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा जस्तै यसपटक पनि अकल्याण्डमा ठूलो दर्शक उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजकले सीमित सिट क्षमताका कारण इच्छुक दर्शकलाई छिटोभन्दा छिटो वेट लिस्टमा नाम दर्ता गर्न अनुरोध गरेका छन्। टिकटसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।