आज राति हुने श्रीलंका र पाकिस्तानबिचको खेलले न्युजिल्याण्डको सेमिफाइनल यात्रा तय गर्ने – New Zealand News Nepal (NZ News Nepal)

आज राति हुने श्रीलंका र पाकिस्तानबिचको खेलले न्युजिल्याण्डको सेमिफाइनल यात्रा तय गर्ने

   February 28, 2026  

आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा झन् रोचक बन्दै गएको छ । समूह चरणका पछिल्ला खेलहरूले सेमिफाइनल समीकरणलाई थप पेचिलो बनाएका छन् ।

शुक्रबार राति आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मा भएको खेलमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । लगातार तीन खेलमा जित निकाल्दै इंग्ल्यान्डले ६ अंक जोडेको छ र समूहबाट अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।

इंग्ल्यान्डको जितसँगै समूहको समीकरण फेरिएको छ । न्युजिल्याण्डको सम्भावना पूर्ण रूपमा समाप्त भएको भने छैन । तर सेमिफाइनल पुग्न अब उसले आफ्नो अन्तिम खेल जित्नुका साथै अन्य टोलीहरूको नतिजामा पनि निर्भर रहनुपर्ने अवस्था बनेको छ । सुपर–८ को अन्तिम चरणका खेलहरूले अन्तिम चारमा पुग्ने टोलीको टुंगो लगाउनेछन् ।

यस समूहबाट पाकिस्तानको पनि सेमिफाइनल पुग्ने सम्भावना कायम रहेको छ । पाकिस्तानले आयोजक श्रीलंकासँग खेल्न बाँकी छ, र उक्त खेलमा फराकिलो अन्तरले जित निकाले मात्र उसको सम्भावना बलियो रहनेछ । न्युजिल्याण्ड समय अनुसार उक्त खेल आज राति २:३० बजे आर. प्रेमादासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।