न्युजिल्याण्डको नेल्सनमा होली पर्वको पूर्वसन्ध्यामा नेपाली समुदायले विशेष कार्यक्रम आयोजना गर्दै उल्लासपूर्ण वातावरणमा होली मनाएका छन्। नेल्सन नेपलिज कम्युनिटीद्वारा आयोजना गरिएको होली विशेष पिकनिक तथा संस्थाको वार्षिक साधारण सभा कार्यक्रममा नेल्सनभरिका ५० भन्दा बढी नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय Rabbit Island मा सम्पन्न कार्यक्रममा सहभागीहरूले एक आपसमा रङ र अबिर लगाएर शुभकामना साटासाट गर्दै होली पर्वको खुशीयाली मनाए। परिवार, साथीभाइ र समुदायका सदस्यहरूबीच आपसी सद्भाव र एकताको भावना झल्किने गरी कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
होली उत्सव सुरु हुनु अघि संस्थाको वार्षिक साधारण सभा पनि आयोजना गरिएको थियो, जहाँ संस्थाका गतिविधि, आगामी योजना तथा समुदायलाई अझ सक्रिय बनाउने विषयमा छलफल गरिएको थियो।


