न्युजिल्याण्ड सरकारले मध्यपूर्वबाट फसेका नागरिकलाई उद्धार गर्न ‘एयर फोर्स’ विमान पठाउने

216 Shares

न्युजिल्याण्ड सरकारले मध्यपूर्वमा फसेका न्युजिल्याण्डका नागरिकलाई उद्धार गर्न रक्षा सेना (एयर फोर्स) विमान पठाउने तयारी गरिरहेको छ। मध्यपूर्व क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणले इजरायल, लेबनन, बहरैन, कतार, साउदी अरब, कुवेत, टर्की र संयुक्त अरब इमिरेट्सलाई असर पारेको छ।

सरकारले फसेका न्युजिल्याण्ड नागरिकलाई उद्धार गर्न कन्सुलर कर्मचारी र दुई न्युजिल्याण्ड डिफेन्स फोर्स (NZDF) विमान पठाउने तयारी गरिरहेको हो।

परराष्ट्र मन्त्री विन्स्टन पिटर्सले मध्यपूर्वमा रहेका न्युजिल्याण्ड नागरिकहरूले अहिले पनि सुरक्षित स्थानमा बस्नुपर्नेछ, वा सुरक्षित र व्यावहारिक अवसर पाएमा बाहिर निस्कन सकिने बताएका छन् ।

उनी भन्छन्, नागरिक उद्धार कहिले र कसरी सम्भव हुने स्पष्ट छैन, तर स्थिति अनुकूल भएमा तयारी गर्न सरकार तयार छ। पिटर्सका अनुसार, अवस्था अनुमति दिंदा NZDF विमानहरूले नागरिकलाई त्यस्ता स्थानमा पुर्याउनेछन् जहाँबाट उनीहरूले वाणिज्यिक उडानमार्फत घर फर्कन सक्नेछन्। उनले भने, “यी उडानहरू लामो हुने छैनन्। हजारौं मानिसहरूलाई छिटो सुरक्षित स्थानमा पुर्‍याउन सकेमा उत्तम हुनेछ।”

रक्षा मन्त्री जुडिथ कोलिन्सले भने, कन्सुलर प्रतिक्रिया टोली र दुई NZDF C-130J विमान कहाँ र कहिले पठाउने भन्ने निर्णय अझै हुन बाँकी रहेको बताइन्।

विदेश मन्त्रालय (MFAT) का अनुसार मध्यपूर्वमा हाल करिब ३००० न्युजिल्याण्ड नागरिक दर्ता भएका छन्।

इजरायलले लेबननको दक्षिणी क्षेत्रका सबै नागरिकलाई ठाउँ खाली गर्न चेतावनी दिएको छ। इजरायलको दाबी अनुसार उनीहरूले हिज्बुल्लाहको पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरिरहेका छन्।

त्यस्तै, इरानले अयातोल्लाह अली खामेनीको अमेरिकी–इजरायली हवाई आक्रमणमा मारिएपछि नयाँ नेतृत्व नियुक्त गर्न ‘नजिक’ भएको बताएको छ। इरानले बुधबार जनाए अनुसार, अमेरिकी–इजरायली आक्रमणमा १०४५ सैनिक र सामान्य नागरिक मारिएका छन्।

सम्बन्धित समाचार

सबै