प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म कम्तीमा २४ निर्वाचन क्षेत्रमा अग्रस्थानमा देखिएको छ। प्रारम्भिक मतपरिणाम अनुसार विशेषगरी काठमाडौं उपत्यका तथा केही प्रमुख जिल्लाहरूमा रास्वपाका उम्मेदवारहरू अगाडि रहेका छन्। मतगणनाको हालसम्मको अवस्थाअनुसार मोरङ–१ मा यज्ञमणि न्यौपाने, धनुषा–३ मा मनीष झा, काठमाडौं–१ मा रञ्जु दर्शन, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजु पाण्डे, काठमाडौं–४ मा पुकार बम तथा काठमाडौं–५ मा सस्मित पोखरेल अग्रता लिइरहेका छन्। त्यसैगरी काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराज श्रेष्ठ र काठमाडौं–१० मा प्रदीप विष्ट पनि अगाडि रहेका छन्। उपत्यका बाहिर पनि रास्वपाले राम्रो सुरुवाती प्रदर्शन गरेको देखिएको छ। भक्तपुर–१ मा रुकेश रणजीत, भक्तपुर–२ मा राजीव खत्री, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्की अग्रस्थानमा छन्। यस्तै रौतहट–४ मा गणेश पौडेल, चितवन–३ मा सोबिता गौतम, कास्की–१ मा कडकराज पौडेल, कास्की–२ मा उत्तम पौडेल तथा कास्की–३ मा बीना गुरुङ पनि अग्रता कायम राखिरहेका छन्। गण्डकी र लुम्बिनी क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन्। तनहुँ–१ मा स्वर्णिम वाग्ले, रुपन्देही–२ मा सुलभ खड्का, बाँके–१ मा सुरेश कुमार चौधरी, कञ्चनपुर–२ मा दीपक बोहरा र कञ्चनपुर–३ मा ज्ञानेन्द्र सिंह मेहता अग्रस्थानमा रहेको प्रारम्भिक मतगणनाले देखाएको छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम भने आउन बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्। प्रारम्भिक परिणामले भने यस पटकको निर्वाचनमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा देखिएको संकेत गरेको छ।


