न्युजिल्याण्डको वाइहीका एक डेरी किसानलाई गाईको फोहोरजन्य पानी अवैध रूपमा वातावरणमा बगाएको आरोपमा ३९ हजार न्युजिल्याण्ड डलर जरिवाना गरिएको छ।
किथ टोरेन्सविरुद्धको मुद्दामा सन् २०२३ को अक्टोबरमा उनको फार्ममा दुई वटा अवैध फोहोर पानीको बहाव फेला परेको थियो। एउटा डेरी शेडबाट निस्किएको थियो भने अर्को अत्यधिक सिँचाइ (ओभर–इरिगेसन) का कारण भएको थियो।
वाइकाटो क्षेत्रीय परिषद्का अनुसार टोरेन्सको फार्ममा फोहोर पानी भण्डारण गर्ने क्षमता अत्यन्त सीमित थियो, जसका कारण खराब मौसममा फोहोर पानी ओभरफ्लो हुने जोखिम उच्च थियो।
परिषद्का अनुपालन व्यवस्थापक प्याट्रिक लिन्चले टोरेन्सले वर्षौंअघि फोहोर पानी भण्डारणका लागि ‘स्टोरेज ब्लाडर’ खरिद गरे पनि त्यसलाई कहिल्यै जडान नगरेको बताए। यसअघि पनि यस्तै प्रकृतिको उल्लङ्घनबारे उनलाई औपचारिक चेतावनी दिइएको थियो।
“डेरी फोहोर व्यवस्थापन प्रणाली वातावरणीय क्षति हुन नदिन उपयुक्त, भरपर्दो र सावधानीपूर्वक सञ्चालन गरिएको हुनुपर्छ,” लिन्चले बताएका छन्।
टोरेन्सले अदालतमा आरोप स्वीकार गरेका थिए। त्यसपछि अदालतले उनलाई ३९ हजार न्युजिल्याण्ड डलर जरिवाना गर्ने फैसला सुनाएको हो।



