भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज न्युजिल्याण्ड आइपुग्दै छन्। उनी अष्ट्रेलियाको भ्रमण सकेर अकल्याण्ड पुग्ने कार्यक्रम रहेको छ। यो भ्रमण भारतीय प्रधानमन्त्रीको करिब ४० वर्षपछि हुने पहिलो आधिकारिक न्युजिल्याण्ड भ्रमण हो।
भ्रमणका क्रममा शनिबार प्रधानमन्त्री मोदीको गभर्नमेन्ट हाउसमा औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग द्विपक्षीय वार्ता गर्नेछन्। दुई नेताबीच व्यापार, लगानी, क्षेत्रीय सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यस अवसरमा दुवै देशबीच विभिन्न सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम पनि तय गरिएको छ।
मोदीले न्युजिल्याण्ड–भारत बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ, जहाँ दुवै देशका व्यवसायी तथा लगानीकर्ताहरू सहभागी हुनेछन्। साथै, खेलकुद साझेदारीसम्बन्धी विशेष कार्यक्रममा पनि उनी सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता क्रिस हिप्किन्ससँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको अर्को प्रमुख आकर्षण स्पार्क एरेनामा आयोजना हुने भारतीय समुदायको भव्य स्वागत कार्यक्रम हुनेछ। न्युजिल्याण्डभरबाट हजारौं भारतीय मूलका नागरिक सहभागी हुने अपेक्षा गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्नेछन्। अकल्याण्डमा न्युजिल्याण्डकै सबैभन्दा ठूलो भारतीय समुदाय बसोबास गर्ने भएकाले सबै औपचारिक कार्यक्रम त्यहीँ आयोजना गरिएको हो।