सुरु भयो हिमालय रोडिजको पाचौँ सिजन – New Zealand News Nepal (NZ News Nepal)

सुरु भयो हिमालय रोडिजको पाचौँ सिजन

   August 1, 2023  

हिमालय रोडिज सिजन-५ को प्रसारण सुरु भएको छ । सोमबार बेलुका प्रसारित पहिलो एपिसोडमा काठमाडौं अडिसनलाई प्रस्तुत गरियो । जुन हेर्दा लाग्थ्यो– हामी कुनै टिभी शोभन्दा ब्लकबस्टर फिल्म हेरिरहेका छौं । जहाँ एउटा फिल्ममा हुनुपर्ने सबथोक थियो ड्रामा, थ्रिलर, इमोसन, एक्सन सबथोक । एक्सन फिल्म निर्देशकको रुपमा चर्चित सिमोस सुनुवारले आफ्नो स्टाइलमा रोडिजलाई पस्किएका थिए । सिजन ५ को पहिलो भागमा आममान्छेको संघर्ष कथा, टास्क, हाँसो, नृत्यदेखि घेचपेच सबै समेटिएको थियो । छायांकन र पार्श्व ध्वनिले यो एपिसोडलाई दर्शनीय बनाएको थियो ।

यीभन्दा पनि महत्वपूर्ण कुरा अडिसन दिन आएका व्यक्तिको कथा र संघर्ष निकै मर्मस्पर्शी लाग्थ्यो । जो अडिसन दिन आएका थिए, उनीहरुको जीवनको कथा भिन्न थियो । कोही ब्रिटिश लाहुरे बन्ने सपना बीचमै त्यागेका, कोही बाल्यकालमा अभावमा हुर्किएका, कोही शारीरिक र मानसिक रुपमा बलियो भन्ने आशा राखेका, कोही पहिचानको खोजीमा निस्किएकादेखि समाजमा सन्देश दिने उद्देश्यले आउने थिए ।

अघिल्ला सिजनभन्दा विविधता पस्किएको पाँचौं सिजनको पहिलो एपिसोडमा ग्याङ लिडरको रुपमा आशिष राना लाउरे, प्रियंका कार्की, दीया मास्के र अनुपविक्रम शाही छन् । होस्टको रुपमा सुरज सिंह ठकुरीको आभा र उपस्थितिले नै रोडिजलाई अझै उचाइमा लगेको अनुभूति गर्न सकिन्छ । सुशान्त खत्री डान्स जज गर्ने गेस्टको रुपमा उपस्थित थिए ।