‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित – New Zealand News Nepal (NZ News Nepal)

‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित

   August 1, 2023  

यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन्। यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन्।

यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन्। शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिए।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय फिल्म हो। फिल्ममा उनी स्वयंको लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ। यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन्। फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए। बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन्।

तिहार लगतै छायाँकन गरिने यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायाँकन गरिने निमार्ण पक्षले बताएको छ।

फिल्म ‘कार्साङ’को ओभरसिज राइट्स छायाँकनअगावै महँगो रकममा बिक्री पनि भइसकेको छ।

यो फिल्मलाई अन्तराष्ट्रिय बजारमा सेभेन सिज इन्टरटेनमेन्ट कम्पनीले रिलिज गर्ने भएको हो। फिल्मको निर्माण पक्ष र सेभेन सिज कम्पनीबीच केही दिन अघि आधिकारिक संझौता भइसकेको छ।

फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित-रत्न)ले लिएको छ। ओभरसिज राइट्स विक्री भएसँगै नेपाल र विदेश एकसाथ फिल्मलाई प्रदर्शन गर्ने निर्देशक शेर्पा बताउछन्।