नेपाली पर्वतारोही निर्मल पुर्जाको ‘१४ पिक्स’ नेटफ्लिक्समा – New Zealand News Nepal (NZ News Nepal)

नेपाली पर्वतारोही निर्मल पुर्जाको ‘१४ पिक्स’ नेटफ्लिक्समा

   December 1, 2021  

कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जामाथि बनेको डकुमेन्ट्री फिल्म ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्समा सार्वजनिक भएको छ। पुर्जाको ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको यात्रा फिल्ममा देखाइएको छ।  विश्वका सर्वोच्च १४ हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरेको कीर्तिमान पुर्जाको नाममा छ। उनले केवल ६ महिनामा सबै हिमाल आरोहण गरेका थिए। त्यसअघि उक्त कीर्तिमान ८ वर्ष रहेको थियो।  २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेर ७६ सालकै कात्तिकमा चीनको सिसापाङगा हिमाल चढ्दै उनले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको कीर्तिमान आफ्नो नाम गराएका थिए। सोमबार नेटफ्लिक्समार्फत सार्वजनिक भएको उक्त फिल्म विश्वका १ सय ९१ देशका १८ करोडभन्दा बढी सबस्क्राइबरसम्म पुगेको छ।

केही दिनअघि राजधानी काठमाडौंमा १४ पिक्सको प्रिमियर भएको थियो। जहाँ नेपालका मन्त्रीदेखि कलाकारसम्मले उक्त फिल्म हेरेका थिए। यो फिल्मले पुर्जा एकजनाको मात्र नभएर नेपालकै नाम विश्वमा चिनाएको उनीहरूको भनाइ थियो। साथै यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटन क्षेत्रको विकासका लागि लाभदायी सावित हुने दाबी समेत गरिएको थियो।  पुर्जाको नाममा जाडोयाममा बिनाअक्सिजन ‘किलर माउन्टेन’ भनेर चिनिने पाकिस्तानको माउन्ट केटु चढेको विश्व कीर्तिमान समेत रहेको छ। यी बाहेक उनको नाममा आधा दर्जनभन्दा बढी विश्व कीर्तिमान दर्ता छन्।