नेपालबाट सूर्यग्रहण नदेखिने, न्युजिल्याण्डमा भने सोमबार बिहानै देखिने

186 Shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले  आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ। यो सूर्यग्रहण न्युजिल्याण्डलगायत, अस्ट्रेलिया, फिजी, टोंगा, अन्टार्टिका र केही देशमा मात्रै देखिनेछ। नेपालमा भने ग्रहण नदेखिने भएकाले सामान्य जीवनमा कुनै धार्मिक वा वैदिक प्रभाव नपर्ने जनाएको हो।

न्युजिल्याण्डमा सोमबार बिहानै सुरु हुने ग्रहण
न्युजिल्याण्डमा भने यो दुर्लभ आंशिक सूर्यग्रहण सोमबार बिहान सूर्योदयसँगै सुरु हुनेछ। करिब १२ वर्षपछि न्युजिल्याण्डबाट देखिने यो ग्रहण करिब एक घण्टासम्म रहनेछ। सूर्योदयको समयमा सूर्य अर्धचन्द्र जस्तै देखिनेछ र चन्द्रमाले सूर्यको केही भाग ढाक्दै जानेछ।

सोमबार बिहान ६ बजेबाट ८ बजेसम्म आंशिक सूर्यग्रहण देखिनेछ र बिहान ७ बजे ‘म्याक्सिमम एक्लिप्स’ हुनेछ। “सूर्य चन्द्रमाद्वारा कति भाग ढाकिन्छ भन्ने कुरा तपाईंको स्थानमा निर्भर हुन्छ,” स्टार्डोमले जनाएको छ, “अकल्यान्डमा करिब ६० प्रतिशत सूर्य ढाकिनेछ भने दक्षिणतिर जाँदा अझ बढी भाग ढाकिनेछ।”

स्टार्डोमका अनुसार बिहान ७ बजे पूर्वी क्षितिजतिर खुला र अवरोधरहित दृश्य भएको स्थानमा रहेकाहरूले उज्यालो क्रेशेन्ट जस्तो सूर्यलाई चन्द्रमाले अंशत: ढाकेको देख्न सक्नेछन्। ग्रहण बिहान ८ बजेपछि चन्द्रमा सूर्यको पृष्ठबाट हट्दै जाँदा सकिनेछ।

यसपटक भने विशेष सावधानी आवश्यक छ। स्टार्डोमले चेतावनी दिँदै भनेको छ, “यो चन्द्रग्रहणजस्तो होइन – आंशिक सूर्यग्रहण हेर्न उपयुक्त आँखा सुरक्षा (Eye Protection) अनिवार्य छ।”

सम्बन्धित समाचार

सबै