न्युजिल्याण्डमा नयाँ वर्ष सन् २०२६ को औपचारिक सुरुवात भएको छ। न्युजिल्याण्ड समयअनुसार राति ठीक १२ बजेसँगै नयाँ वर्ष प्रारम्भ भएको हो। नेपाली समयभन्दा न्युजिल्याण्डको समय ७ घण्टा १५ मिनेट अगाडि पर्छ।
नयाँ वर्षको स्वागतका लागि देशका प्रमुख शहरहरू अकल्याण्ड, वेलिङटन, क्राइस्टचर्च, ताउरङ्गा, रोटोरुवा, नेल्सन, डुनेडिनलगायत स्थानहरूमा मानिसहरूको बाक्लो उपस्थिति देखिएको थियो। अधिकांश शहरहरूमा भव्य आतिशबाजीसहित नयाँ वर्षको उल्लासपूर्वक स्वागत गरिएको हो।
कोरोना महामारीका कारण सन् २०२१ र २०२२ मा नयाँ वर्षको अवसरमा न्युजिल्याण्डमा ठूला सार्वजनिक कार्यक्रमहरू आयोजना हुन सकेका थिएनन्। तर सन् २०२३ यता भने देशभर पुनः हर्षोल्लासका साथ नयाँ वर्ष मनाउन थालिएको छ।


