न्युजिल्याण्डमा चक्रवात ‘भायानु’ दक्षिणतर्फ अघि बढिरहेको छ र यसले नर्थ आईल्याण्डका विभिन्न क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा ल्याउने अपेक्षा गरिएको छ। मौसम विभागले चक्रवात अझै केही थप शक्तिशाली हुन सक्ने संकेत दिएको छ।
गत राति नर्थल्यान्डमा १२० किमि/घण्टासम्मको हावाको झोक्का रेकर्ड गरिएको छ भने बे अफ प्लेन्टी र वाइकाटोमा हजारौँ घर अझै विद्युत् विहीन छन्।
अवस्था जटिल बन्दै जाँदा वाइकाटो (कोरोमण्डलसहित), नर्थल्यान्ड, वेस्टर्न बे अफ प्लेन्टी र हक्स बे क्षेत्रमा आपतकाल घोषणा गरिएको छ। साथै पूरै नर्थ आईल्याण्ड कुनै न कुनै मौसम चेतावनीमा रहेको छ भने कोरोमण्डल, बे अफ प्लेन्टी र ग्रेट ब्यारेयर टापुमा रेड अलर्ट जारी गरिएको छ।
मेटसर्भिसले यी क्षेत्रमा ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेको चेतावनी दिँदै रूख ढल्ने, पहिरो जाने र बाढी आउने जोखिम रहेको जनाएको छ।
आपतकालीन मन्त्री मार्क मिचेल ले सर्वसाधारणलाई लापरवाही नगर्न आग्रह गर्दै देश सबैभन्दा खराब अवस्थासम्मको तयारीमा रहेको बताएका छन्। अकल्याण्डमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले चक्रवात पूर्वानुमान गरिएको मार्गमै रहे पनि अपेक्षाभन्दा केही पूर्वतर्फ सरेको बताए।
उनका अनुसार अहिले अनुमान गरिएको जति तीव्रता नदेखिए पनि चक्रवात दक्षिणतर्फ सर्दै जाँदा “अझ केही तीव्रता बढ्ने” सम्भावना रहेको छ। विशेषगरी आज दिउँसो करिब २ बजेतिर पूर्वी तटीय क्षेत्रमा उच्च ज्वारसँगै तीव्र हावा र वर्षा आउने सम्भावना रहेको उनले बताए।
देशभर सयौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै उनले आपतकालीन सेवामा खटिएका कर्मचारीहरूको प्रशंसा गरेका छन् र सबैलाई सतर्क रहन आग्रह गरेका छन्।


