‘भायानु’को प्रभावले साउथ आईल्याण्डको मौसम पनि प्रभावित, अधिकांश क्षेत्रमा घाम लागेन – New Zealand News Nepal (NZ News Nepal)

‘भायानु’को प्रभावले साउथ आईल्याण्डको मौसम पनि प्रभावित, अधिकांश क्षेत्रमा घाम लागेन

   April 12, 2026  

चक्रवात ‘भायानु’ को प्रभाव अब साउथ आईल्याण्डमा पनि देखिन थालेको छ। विशेषगरी उत्तरी साउथ आईल्याण्डका केही क्षेत्रमा मौसम प्रत्यक्ष रूपमा प्रभावित भएको छ भने अन्य स्थानमा आंशिक प्रभाव देखिएको छ।

उत्तरी क्षेत्र नेल्सन, ब्लेनहिम, काईकोरामा आज दिनभर वर्षा भइरहेको छ भने यी क्षेत्रमा खराब मौसमको चेतावनी जारी गरिएको छ। यी क्षेत्रमा लगातार वर्षा र बदलिँदो मौसमले जनजीवन प्रभावित भएको छ।

यसैबीच क्राइस्टचर्च र डुनेडिनमा पनि वर्षाको सम्भावना रहेको छ। मौसम विभागका अनुसार आज यी शहरहरूमा बदली बढ्ने र हल्का वर्षा हुन सक्ने संकेत गरिएको छ।

त्यस्तै क्विन्सटाउन, ग्रेमाउथ लगायतका स्थानमा घाम नलागी बदली भएको मौसम देखिएको छ भने वानाका, टेकापो र इनभरकार्गिल क्षेत्रमा बाक्लो बादल लागेर वर्षा हुन सक्ने सम्भावना रहेको छ।

साउथ आईल्याण्डका अधिकांश क्षेत्रमा चक्रवात ‘भायानु’को प्रत्यक्ष प्रभाव देखिएको छ। यद्यपि, कडा चेतावनी भने उत्तरी क्षेत्र (नेल्सन, ब्लेनहिम) मा मात्र जारी गरिएको छ भने अन्य स्थानमा सामान्य बदलीसहित मौसम परिवर्तन भएको छ।

मौसमविद्हरूले सर्वसाधारणलाई मौसम अपडेटमा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।