नेपाली सांगीतिक क्षेत्रको चर्चित ब्यान्ड नेपथ्यको कन्सर्टका लागि टोली न्यूजिल्याण्ड प्रस्थान गरेको छ। ब्यान्डका सदस्यहरू आज नेपालबाट मलेसिया हुँदै न्यूजिल्याण्डतर्फ उडेका हुन्।
ब्यान्डका सदस्यहरू भोली बेलुका अकल्याण्ड आइपुग्नेछन्। मलेसियन एयरलाइन्सको उडानमार्फत आउँदै गरेका उनीहरू भोलि राति १०:५० बजे अकल्याण्ड विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
ब्यान्डलाई न्यूजिल्याण्डको परम्परागत शैलीमा भव्य स्वागत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
आउँदो मे १० तारिखमा अकल्याण्डमा नेपथ्यको बहुप्रतीक्षित कन्सर्ट आयोजना हुँदैछ। यस कन्सर्टमा नेपाली समुदायका दर्शकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
नेपाली लोक र आधुनिक संगीतको समिश्रण प्रस्तुत गर्दै आएको नेपथ्यले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाएको छ।


