रहेनन् ‘नट्टु काका’ – New Zealand News Nepal (NZ News Nepal)

रहेनन् ‘नट्टु काका’

   October 4, 2021  

भारतीय टेलिभिजन शो ‘तारक मेहताका उल्टा चश्मा’मा ‘नट्टू काका’को भूमिका निर्वाह गरेर चर्चित बनेका अभिनेता घनश्याम नायकको ७७ वर्षको उमेरमा निधन भएको छ । उनको क्यान्सरबाट निधन भएको हो । घनश्यामको निधनको पुष्टि शोका निर्माता असित मोदीले गरेका छन् । ‘हाम्रो प्रिय नट्टु काका हामीमाझ रहेनन् । परम कृपालु परमेश्वर उनलाई आफ्नो चरणमा स्थान दिनुहोला र परम शान्ति दिनुहोला । उनको परिवारलाई यो दुःख सहन सक्ने शक्ति दिऊन । नटु काका हामी तपाईंलाई भुल्न सक्दैनौं,’ असितले सामाजिक सञ्जालमा लेखेका छन् । घनश्यामका छोरा विकासका अनुसार तीन महिना अघि घनश्यामको घाँटीमा केही गाँठा देखिएका थिए । जसका कारण उनको उपचार सुरु भएको थियो । गत वर्ष उनको घाँटीको अपरेसन गरेर ८ गाँठा निकालिएको थियो । निरन्तर उपचार पछि उनको स्वास्थ्यमा सुधार आएको थियो । घनश्याम टेलिभिजनमा मात्र होइन, कैयौं फिल्ममा पनि काम गरेका थिए । सन् १९६० मा अशोक कुमारको फिल्म ‘मासूम’बाट बाल कलाकारका रुपमा अभिनय यात्रा थालेका उनले ‘बेटा’, ‘तिरंगा’, ‘आंखें’, ‘लाडला’, ‘क्रान्तिवीर’, ‘आन्दोलन’, ‘बरसात’लगायतका फिल्ममा अभिनय गरेका थिए ।