MetService New Zealand ले साउथ आईल्याण्डका विभिन्न क्षेत्रमा आइतबारदेखि र नर्थ आईल्याण्डका केही भागमा सोमबारदेखि भारी वर्षा हुने चेतावनी जारी गरेको छ। आर्द्र उत्तरी हावासँगै विकसित भएको न्यून चापीय प्रणालीका कारण देशका धेरै क्षेत्रमा लगातार वर्षा र शक्तिशाली हावा चल्ने अनुमान गरिएको छ।
सबैभन्दा बढी प्रभावित हुने क्षेत्रमा टास्मान जिल्लाको मोतुएका उत्तरपश्चिम क्षेत्र रहेको छ, जहाँ आइतबार बिहानदेखि मंगलबार बिहानसम्म ४०० देखि ५०० मिलिमिटरसम्म वर्षा हुने अनुमान गरिएको छ। केही उच्च पहाडी क्षेत्रमा वर्षा ६०० मिलिमिटरसम्म पुग्न सक्ने चेतावनी दिइएको छ। यस क्षेत्रका लागि जारी गरिएको ‘ओरेन्ज हेभी रेन वार्निङ’ लाई ‘रेड वार्निङ’ मा स्तरोन्नति गरिने सम्भावना पनि रहेको बताइएको छ।
बुलरका पहाडी क्षेत्र, रिचमण्ड तथा ब्रायन्ट रेञ्ज, राय उपत्यका, आर्थर्स पास आसपासका क्यान्टरबरीका नदी तथा तालका शिरभाग, वेस्टल्याण्डको होकिटिका दक्षिण क्षेत्र तथा फियोर्डल्याण्डका केही भागमा पनि १०० देखि ५०० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान छ।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने, बाढी, पहिरो तथा सडक यातायातमा समस्या आउन सक्ने चेतावनी मौसमविद्हरूले दिएका छन्। स्थानीयवासीलाई नाली तथा पानी निकास सफा राख्न, होचो भूभागबाट टाढा रहन तथा यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैबीच, नर्थ आईल्याण्डको नर्थल्याण्ड क्षेत्रमा सोमबारदेखि मंगलबारसम्म भारी वर्षाको सम्भावना रहेको ‘हेभी रेन वाच’ जारी गरिएको छ। त्यस्तै Taranaki Maunga क्षेत्रमा ३३ घण्टासम्म लगातार भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनिएको छ।
क्यान्टरबरीको उच्च पहाडी क्षेत्रमा आइतबार उत्तर–पश्चिमी दिशाबाट शक्तिशाली हावा चल्न सक्ने भएकाले ‘स्ट्रङ्ग विन्ड वाच’ समेत जारी गरिएको छ।
मौसमविद्हरूले आगामी केही दिन मौसम थप बिग्रिन सक्ने भएकाले ताजा मौसम पूर्वानुमान र चेतावनीहरू नियमित रूपमा हेर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।



