ड्युनेडिनसहित ओटागो क्षेत्रमा भारी वर्षा र हिमपात – New Zealand News Nepal (NZ News Nepal)

ड्युनेडिनसहित ओटागो क्षेत्रमा भारी वर्षा र हिमपात

   July 6, 2026  

न्युजिल्याण्डको दक्षिणी भागमा अवस्थित ड्युनेडिनसहित ओटागो क्षेत्रमा लगातारको भारी वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण Waitaki District मा सोमबार बिहान करिब ५:३० बजे स्थानीय आपतकाल घोषणा गरिएको छ।

बाढी तथा डुबानको जोखिम बढेपछि वेटाकी जिल्लामा आज बिहानै आपतकालीन आश्रय केन्द्र सञ्चालनमा ल्याइएको छ। रातभर सञ्चालन गरिएको Mosgiel को आश्रय केन्द्र भने अवस्था सामान्य बन्दै गएपछि बन्द गरिएको छ।

Dunedin मा आइतबारदेखि नै सिभिल डिफेन्सको आपतकालीन बंकर सक्रिय पारिएको छ। ड्युनेडिनका मेयरले स्थानीय परिषद् सम्भावित सबैभन्दा खराब अवस्थालाई ध्यानमा राखेर आवश्यक तयारीमा जुटेको बताएका छन्।

मौसम विभागका अनुसार ड्युनेडिनको तटीय क्षेत्र तथा Clutha District मा सोमबार बिहान १० बजेसम्म रेड हेभी रेन वार्निङ लागू गरिएको छ। उत्तर ओटागोका तटीय क्षेत्रमा भने दिउँसो २ बजेसम्म अरेन्ज हेभी रेन वार्निङ जारी रहनेछ।

यसैगरी, तटीय क्षेत्रबाहेकका ओटागो तथा उत्तरी Southland मा सोमबार बिहान ६ बजेसम्म अरेन्ज हेभी स्नो वार्निङ जारी गरिएको छ। उच्च भूभागमा उल्लेखनीय हिमपात हुन सक्ने भएकाले सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

यता सोमबार अपराह्न ४ बजेदेखि Marlborough तथा Canterbury को लेक सम्नरको उत्तरतर्फका भित्री क्षेत्रमा पनि भारी वर्षाको चेतावनी लागू हुने मौसमविद्हरूले बताएका छन्।

अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी अद्यावधिक जानकारी पछ्याउन, अनावश्यक यात्रा नगर्न र स्थानीय सिभिल डिफेन्सका निर्देशनहरू पालना गर्न अनुरोध गरेका छन्।