साउथ आईल्याण्डमा सुनामी चेतावनी जारी, तत्काल सुरक्षित स्थानमा जान आग्रह

159 Shares

साउथ आईल्याण्डको टे आनाउ (Te Anau) बाट करिब ४० किलोमिटर उत्तरमा गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डका अधिकारीहरूले सुनामी चेतावनी जारी गरेका छन्। राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (NEMA) ले मिलफोर्ड साउन्ड (Milford Sound) देखि प्युसेगुर पोइन्ट (Puysegur Point) सम्मको साउथ आईल्याण्डको पश्चिमी तटीय क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गरेको हो।

अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा समुद्री पानी जमिनतर्फ पस्ने (Land Inundation) सम्भावना रहेको छ। त्यसैले तट नजिक रहेका सबैलाई तत्काल नजिकको उच्च स्थानमा, सुनामी निकासी क्षेत्रभन्दा बाहिर वा सकेसम्म भित्री भूभागतर्फ सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। केही स्थानमा भूकम्पको कम्पन महसुस नभएको हुन सक्ने भए पनि सम्भावित विनाशकारी सुनामीको जोखिमका कारण ढिलाइ नगरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

स्थानीय सिभिल डिफेन्स (Civil Defence) का अधिकारीहरूको निर्देशन पालना गर्न, निकासीको आदेश आएमा घरमै नबस्न र आधिकारिक रूपमा ‘सबै सुरक्षित’ (All Clear) घोषणा नभएसम्म आफ्नो घर वा तटीय क्षेत्रमा नफर्किन पनि आग्रह गरिएको छ। ट्राफिक जामबाट बच्न सम्भव भएसम्म पैदल, दौडेर वा साइकल प्रयोग गरेर सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ।

अधिकारीहरूले पहिलो सुनामीको छाल नै सबैभन्दा ठूलो नहुन सक्ने चेतावनी दिएका छन्। सुनामीका छालहरू धेरै घण्टासम्म निरन्तर आउन सक्ने भएकाले चेतावनी हटाइएसम्म जोखिम कायम रहने जनाइएको छ।

यसैबीच, न्युजिल्याण्डका अन्य सबै तटीय क्षेत्रमा रहेका र एक मिनेटभन्दा बढी समयसम्म वा उभिनै गाह्रो हुने गरी शक्तिशाली भूकम्प महसुस गरेका व्यक्तिहरूलाई पनि तत्काल उच्च स्थान वा सुरक्षित भित्री क्षेत्रमा जान आग्रह गरिएको छ। उनीहरूलाई पनि घरमै नबस्न चेतावनी दिइएको छ।

NEMA र Earth Sciences New Zealand (ESNZ) ले सुनामीको जोखिमको थप मूल्याङ्कन गरिरहेको जनाउँदै देशभरका तटीय क्षेत्रका लागि विस्तृत जोखिम नक्सा (Threat Map) छिट्टै सार्वजनिक गरिने जनाएको छ।

अधिकारीहरूले सबै तटीय क्षेत्रका बासिन्दालाई रेडियो, टेलिभिजन तथा आधिकारिक सिभिल डिफेन्स सूचनामार्फत अद्यावधिक जानकारी लिन, समुद्र, नदीमुख तथा पानीबाट टाढा रहन, समुद्री किनारमा नजान, दृश्य अवलोकनका लागि तटतर्फ नजान तथा यो सूचना परिवार, छिमेकी र साथीभाइसँग पनि साझा गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

सबै