न्युजिल्याण्डको माओरी पार्टीले विदेशमन्त्री विन्स्टन पिटर्सको तत्काल राजीनामा मागेको छ। ग्रीन पार्टीका चिनियाँ मूलका सांसद लरेन्स सु–नान प्रति संसदमा गरिएको विवादास्पद टिप्पणीपछि माओरी पार्टीले पिटर्स अब विदेशमन्त्रीको जिम्मेवारीमा रहन योग्य नरहेको जनाएको हो।
माओरी पार्टीका सह–नेताले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा “विन्स्टन पिटर्सलाई तत्काल विदेशमन्त्री पदबाट हटाइनुपर्छ” भन्दै सरकारसँग माग गरेका छन्।
वक्तव्यमा पिटर्सले सांसद सु–नानप्रति गरेको टिप्पणीलाई जातीय विभेद (रङ्गभेद) झल्किने अभिव्यक्ति भन्दै यस्तो व्यवहार गर्ने व्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा न्युजिल्याण्डको प्रतिनिधित्व गर्न नसक्ने उल्लेख गरिएको छ।
माओरी पार्टीका अनुसार विदेशमन्त्रीको जिम्मेवारीमा रहेको व्यक्तिले कुनै पनि समुदायलाई उनीहरूको पहिचानका आधारमा होच्याउनु न्युजिल्याण्डको प्रतिष्ठामाथिको आघात हो। यस्ता अभिव्यक्तिले विश्वसामु न्युजिल्याण्डको छविमा समेत नकारात्मक असर पार्ने पार्टीको भनाइ छ।
वक्तव्यमा माओरी समुदायको इतिहास स्मरण गर्दै उपनिवेशवादभन्दा धेरैअघि नै माओरी पुर्खाहरूले समुद्रपारका समुदायसँग सम्मान, पारस्परिक सहयोग र आतिथ्य (Manaakitanga) का आधारमा कूटनीतिक सम्बन्ध विकास गरेको उल्लेख गरिएको छ।
“आफ्नै भूमिमा आएका पाहुनालाई अपमान गर्नु, उनीहरूको परिवार र समुदायलाई होच्याउनु न्युजिल्याण्डका मूल्य र परम्पराविपरीत हो,” वक्तव्यमा भनिएको छ।
माओरी पार्टीले अन्त्यमा “विन्स्टन पिटर्स अब विदेशमन्त्रीका रूपमा सेवा गर्न योग्य छैनन्। उनले पद छाड्नुपर्छ।” भन्दै आफ्नो माग दोहोर्याएको छ।
यसअघि संसदमा ग्रीन पार्टीका सांसद लरेन्स सु–नानलाई लक्षित गर्दै विन्स्टन पिटर्सले “आफ्नै देश फर्क” लगायतका टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिको प्रधानमन्त्री क्रिस्टोफर लक्सन, विपक्षी दलहरू तथा चीनले आलोचना गरेका छन् भने चीनले न्युजिल्याण्ड सरकारसमक्ष औपचारिक कूटनीतिक विरोधसमेत जनाएको छ।


