कोरोना भाईरसको संक्रमण देशभर बढीरहेको बेला विज्ञहरुले न्युजिल्याण्डमा कोरोना संक्रमितको संख्या एक हजार पुग्ने चेतावनी दिएका छन् । त्यसै कारणले उनिहरुले देश भर जारी भएको लकडाउन अझै लम्ब्याउन सरकारलाई सुझाव दिएका छन् । अगस्त १७ मा पहिलो डेल्टा भेरियन्टको संक्रमण देखिएयता न्युजिल्याण्डभरी लेभल ४ को लकडाउन लगाइएको छ । हालसम्म २७७ जनामा कोरोना पुष्टी भईसकेको छ र संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिएको छ । सबै भन्दा बढी संक्रमित अकल्याण्डमा भेटिएका छन् । त्यँहा २६३ जना संक्रमित छन् भने राजधानी वेलिङटनमा १४ जनामा संक्रमण भेटिएको छ । सरकारले जारी गरेको देशब्यापी लकडाउनको समय शुक्रबार सकिदै छ । उता अकल्याण्डमा भने आउदो मंगलबार सम्म लकडाउन जारी रहने छ । भोली बस्ने मन्त्रिपरिषद बैठकबाट बाँकी देशको लकडाउनको बारेमा निर्णय हुने भएको छ । कोरोना संक्रमितको संख्या दिन दिनै बढ्दो क्रममा रहेकाले लकडाउनलाई थप गर्ने वा सुरक्षित स्थानमा अलर्ट लेभल घटाउने भन्नेबारे पनि भोली निर्णय हुने छ । अकल्याण्ड र वेलिङटनबाहेक अरु स्थानमा अहिले सम्म संक्रमण नदेखिएकाले यि शहरबाहेक अरु ठाउँमा लेभल ३ को लकडाउन हुनसक्ने सम्भावना पनि रहेको छ । तर अकल्याण्डमा भने अझै केही हफ्ता लेभल ४ नै कायम राख्न विज्ञहरुले सुझाएका छन् ।


