पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको दिनको सम्झना र नेपालको पर्यटन प्रवर्धनका लागि न्यूजिल्याण्डमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७१ वर्ष पुगेको अवसरमा हिजो शनिबार न्युजिल्याण्डका दुई शहरमा एभरेष्ट डे मनाईएको हो । सगरमाथामा पहिलो पटक सफल आरोहण आउदो बुधबार ७१ वर्ष पुग्दै छ । सन् १९५३ मे २९ तारिकका दिन न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिक र त्यस्को आसपासमा न्युजिल्याण्डमा सगरमाथा दिवस अर्थात एभरेष्ट डे मनाउने गरिन्छ ।
नर्थ आईल्याण्डको अकल्याण्ड र साउथको ईन्भरकार्गिलमा एभरेष्ट डे मनाएको छ । अकल्याण्डमा आयोजना भएको कार्यक्रममा न्युजिल्याण्डस्थित नेपाली राजदुत कैलाश पोखरेल, नेपाली अवैतानिक बाणिज्यदुत दिनेश खड्का, गैर आवासिय नेपाली संघ न्युजिल्याण्डका अध्यक्ष लाल केसी लगायतको सहभागिता रहेको थियो । त्यस्तै ईन्भरकार्गिलको कार्यक्रममा नेपाली अवैतानिक बाणिज्यदुत आत्मराम खनालको उपस्थिती रहेको थियो । दुवै कार्यक्रममा बिभिन्न सांस्कृतिक प्रस्तुतीहरुको आयोजना गरिएको थियो ।


