अमेरिकाको सबैभन्दा ठूलो वायु सेना विमान अकल्याण्डमा अवतरण – New Zealand News Nepal (NZ News Nepal)

अमेरिकाको सबैभन्दा ठूलो वायु सेना विमान अकल्याण्डमा अवतरण

   August 21, 2025  

अकल्याण्ड – अमेरिकी वायु सेनाको सबैभन्दा ठूलो विमान C-5M सुपर ग्यालेक्सी बुधबार अकल्याण्डस्थित व्हेनुआपाई एयर बेसमा विशेष सामग्रीसहित अवतरण गरेको छ।

यस विमानमार्फत नयाँ C-130J हरक्युलिस सिम्युलेटर का विभिन्न कम्पोनेन्टहरू न्युजिल्याण्ड ल्याइएका हुन्। सो सिम्युलेटरले नयाँ हरक्युलिस विमान सञ्चालन गर्ने वायु तथा भूमिगत टोलीलाई तालिम दिनेछ, साथै पाइलटहरूको अभ्यासका लागि सुरक्षित वातावरण उपलब्ध गराउनेछ।

C-5M सुपर ग्यालेक्सी को पंखाको लम्बाइ ६७.८९ मिटर छ भने यसको अधिकतम टेकअफ तौल ३८१ टनभन्दा बढी हुन्छ।

गत डिसेम्बरमा नयाँ पाँच वटा C-130J हरक्युलिसमध्ये अन्तिम विमान न्युजिल्याण्ड आएको थियो। यसले करिब ६० वर्षदेखि प्रयोग हुँदै आएको पुरानो C-130H हरक्युलिसलाई प्रतिस्थापन गर्नेछ।

सिम्युलेटर परियोजना न्युजिल्याण्डको रक्षा मन्त्रालयको नेतृत्वमा अमेरिकी वायु सेना, क्यानडाली प्राविधिक कम्पनी CAE USA र लॉकहिड मार्टिन को सहकार्यमा अघि बढाइएको हो।

विमानबाट ल्याइएका सामग्रीहरू बुधबार झारिएका हुन् भने दोस्रो  डेलिभरी पनि चाँडै हुने बताइएको छ।
न्युजिल्याण्ड रक्षा बल (NZDF) का अनुसार सो प्राविधिक उपकरण आगामी वर्षभित्र प्रयोगका लागि तयार हुनेछ।