न्युजिल्याण्ड सरकारले नयाँ बिजनेस इन्भेष्टर भिसा घोषणा गरेको छ, जसअन्तर्गत अन्तर्राष्ट्रिय लगानीकर्ताले विद्यमान व्यवसाय खरिद गरी कम्तीमा एक थप पूर्णकालिक कर्मचारी नियुक्त गरेमा १२ महिनामै स्थायी बसोबास (रेसिडेन्स) पाउन सक्नेछन्। सरकारले यस नयाँ योजनालाई पुरानो एन्टरप्रेन्योर भिसा को स्थानमा ल्याएको हो।
नयाँ योजनाअनुसार २ मिलियन डलरको लगानी गर्ने लगानीकर्ताले १२ महिनामै रेसिडेन्स पाउनेछन् भने १ मिलियन डलरको लगानीमा तीन वर्षपछि बसोबासको बाटो खुल्नेछ। तर खरिद हुने व्यवसाय कम्तीमा पाँच वर्षदेखि सञ्चालनमा हुनुपर्ने, आर्थिक मापदण्ड पूरा गर्नुपर्ने र कम्तीमा पाँच जना पूर्णकालिक कर्मचारी कार्यरत हुनुपर्ने शर्त तोकिएको छ। साथै, लगानीकर्ताले अंग्रेजी भाषा बोल्न सक्नुपर्ने, व्यवसायिक अनुभव हुनुपर्ने र प्रत्यक्ष रूपमा व्यवसाय सञ्चालन गर्नुपर्नेछ।
आप्रवासन मन्त्री एरिका स्टानफोर्डले भनिन्, “यो नयाँ भिसाले न्युजिल्याण्डका व्यवसायमा नयाँ जीवन दिनेछ, रोजगारी सिर्जना गर्नेछ, आम्दानी बढाउनेछ र देशभरका स्थापित व्यवसायलाई मजबुत बनाउनेछ।” उनका अनुसार पुरानो एन्टरप्रेन्योर भिसा मा आवेदन संख्या कम, अस्वीकृति दर उच्च र आर्थिक प्रभाव न्यून भएकाले नयाँ प्रणाली ल्याइएको हो।
यसअघि ल्याइएको एक्टिभ इन्भेष्टर प्लस भिसा अन्तर्गत ५ देखि १० मिलियन डलरसम्म लगानी आवश्यक थियो। नयाँ योजना भने मध्यम स्तरका लगानीकर्तालाई आकर्षित गर्ने गरी ल्याइएको हो। साथै, सरकारले निकट भविष्यमा स्टार्टअप उद्यमीहरूका लागि छुट्टै भिसा मार्ग ल्याउने तयारी पनि गरेको छ।


