भीषण हावा र आगलागीले साउथ आईल्याण्डमा कहर, स्टेट हाइवे १ र ७ बन्द – New Zealand News Nepal (NZ News Nepal)

भीषण हावा र आगलागीले साउथ आईल्याण्डमा कहर, स्टेट हाइवे १ र ७ बन्द

   October 22, 2025  

न्यूजील्याण्डमा भीषण हावा र आगलागीका कारण हजारौं सम्पत्तिहरू बिजुलीविहीन बनेका छन्। देशका विभिन्न भागमा जारी खराब मौसमले जनजीवन प्रभावित बनेको छ।

काइकौरामा लागेको भीषण आगलागीले कम्तीमा १४ वटा भवन-(पाँचवटा घर) पू्र्णरूपमा नष्ट गरेको पुष्टि गरिएको छ। स्थानीय बासिन्दालाई तत्काल सुरक्षाका लागि उद्धार गरी अन्य सुरक्षित स्थानमा सारिएको छ।

त्यस्तै, हावाको उच्च वेगका कारण काइकौराको स्टेट हाइवे १ र स्टेट हाइवे ७ (ह्यान्मर स्प्रिङ्स टर्न-अफ र स्प्रिङ्स जङ्सनबीचको भाग) बन्द गरिएको छ। सडकमा रुख ढलेका र मलबा फैलिएका कारण यातायात पूर्ण रूपमा अवरुद्ध भएको अधिकारीहरूले बताएका छन्।

हकस बेस्थित पोरङ्गाहाउ क्षेत्रमा पनि आगो फैलिँदै गएको छ। तीव्र हावाका कारण आगो नियन्त्रणमा ल्याउन कठिन भइरहेको र पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

आज बिहानदेखि मौसम अनुकूल भएमा चारवटा हेलिकोप्टर र एउटा विमानको सहयोगमा अग्निनियन्त्रकहरूले आगो निभाउने योजना बनाएका छन्। तर, बिहीबार पूर्वानुमान गरिएको तीव्र हावाले दुबै स्थानका आगलागी अझ फैलिन सक्ने चिन्ता व्यक्त गरिएको छ।

मेटसर्भिसका अनुसार आगामी घण्टामा हावाको वेग विनाशकारी स्तरसम्म पुग्न सक्ने र केही ‘ओरेन्ज वार्निङ’ हरू ‘रेड वार्निङ’मा रूपान्तरण गर्नुपर्ने सम्भावना रहेको छ।

साउथ आईल्याण्ड र नर्थ आईल्याण्डको तल्लो भागका धेरै क्षेत्रहरूमा अहिले पनि शक्तिशाली हावा र मुसलधारे वर्षाको चेतावनी जारी छ।