दक्षिण अकल्याण्डको औद्योगिक क्षेत्रमा आगलागी हुँदा आकाशभरि बाक्लो कालो धुवाँ फैलिएको छ। Wiri स्थित रोसकमन रोडको एक व्यावसायिक भवनमा लागेको आगो नियन्त्रणमा लिन करिब १५ वटा दमकल टोली र फायर ट्रकहरू घटनास्थलमा खटिएका छन् ।
फायर एन्ड इमर्जेन्सी न्युजील्याण्ड (FENZ) ले आसपासका बासिन्दालाई धुवाँबाट जोगिनका लागि ढोका–झ्याल बन्द गर्न, एयर कन्डिसनर बन्द गर्न र सम्भव भएसम्म घरभित्रै बस्न आग्रह गरेको छ।
“दक्षिण अकल्याण्डका केही भागमा ठूलो मात्रामा धुवाँ फैलिँदै गएको छ,” FENZ ले जनाएको छ।
आगलागीका कारण रोसकमन रोड बन्द गरिएको छ। प्रहरीले विडी स्टेशन रोड र क्याभेन्डिस ड्राइभसँगको चोकमा सुरक्षा घेरा (कर्डन) लगाइएको जानकारी दिएको छ।
फायर एन्ड इमर्जेन्सी न्युजील्याण्डले आगो नियन्त्रणका लागि काम जारी राखेको र सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा ढिलाइको सामना गर्न तयार रहन आग्रह गरिएको छ।


