न्युजिल्याण्डको संसदबाट विदा हुन लागेका लेबर पार्टीका सांसद पेनी हेनरेले आफू अब संसद र राजनीतिबाट बाहिरिन तयार भएको बताएका छन्। १२ वर्षसम्म संसदमा सेवा गरेपछि उनले अब आफु सकृय राजनीतिबाट बाहिरिने प्रतिक्रिया दिएका छन्।
रेडियो न्युजिल्याण्डसँगको अन्तर्वार्तामा उनले भने, “तपाईं आफ्नो तर्फबाट सक्दो प्रयास मात्रै गर्न सक्नुहुन्छ, र मलाई लाग्छ मैले त्यो गरेको छु।” संसदमा आफ्नो अन्तिम साता बिताइरहेका हेनरेका अनुसार उनको लागि सबैभन्दा कठिन पक्ष भनेको ‘माओरी पहिचान र राजनीतिज्ञको भूमिकाबीच सन्तुलन मिलाउनु’ थियो।
उनले संसद छोड्ने क्रममा आफूलाई मिश्रित भावना आएको बताए। विशेषगरी संसदभित्र बनेका मानवीय सम्बन्धहरू सम्झिँदा आफूलाई भावुक बनाएको उनले बताए। उनका अनुसार सबै दलका सांसदहरूसँग राम्रो सम्बन्ध रहनु नै उनको राजनीतिक शैलीको प्रमाण हो।
हेनरेले संसदका सुरक्षा कर्मचारीहरूसँग समेत आफ्नो राम्रो सम्बन्ध रहेको बताए। उनले भने, “संसदभित्र र बाहिरका विभिन्न क्षेत्रका धेरै मानिसले मलाई राजनीति छोड्दा दुःख लागेको बताएका छन्, केहीले त निर्णय परिवर्तन गर्न आग्रह पनि गरेका छन्।”
तर लेबर पार्टी नेतृत्वले निर्णय बदल्न आग्रह गरेको हो कि होइन भन्ने प्रश्नमा उनले भने, “नेतृत्वसँग कुराकानी त भइरहन्छ, तर मेरो निर्णय लगभग पक्का भइसकेको छ।”


