न्युजिल्याण्ड सरकारले देशको इन्धन भण्डारणको अवस्थाबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा देखिएको आर्थिक अस्थिरता र त्यसले इन्धन आपूर्तिमा पार्न सक्ने सम्भावित प्रभावबारे सरकारको प्रतिक्रिया सार्वजनिक गर्न यो पत्रकार सम्मेलन गर्न लागिएको हो।
अर्थ मन्त्री निकोल विलिसले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै न्युजिल्याण्डको ऊर्जा आपूर्ति, इन्धन भण्डारणको अवस्था तथा सम्भावित जोखिमबारे अद्यावधिक जानकारी दिने अपेक्षा गरिएको छ।
हाल मध्यपूर्वमा Strait of Hormuz वरिपरि केन्द्रित युद्धका कारण विश्वको महत्त्वपूर्ण तेल ढुवानी मार्ग प्रभावित भएको छ। विश्वभर आपूर्ति हुने करिब २० प्रतिशत तेल यही मार्गबाट गुज्रिने भएकाले यसको अवरोधले अन्तर्राष्ट्रिय बजारमा चिन्ता बढाएको छ।
न्युजिल्याण्डमा इन्धनको भण्डारण र आपूर्तिको अवस्थालाई Ministry of Business, Innovation and Employment (MBIE) ले निगरानी गरिरहेको छ। MBIE को वेबसाइटमा इन्धन भण्डारणको तथ्यांक राखिने भए पनि पछिल्लो अपडेट भने गत हप्तादेखि सार्वजनिक भएको छैन।
सरकारी प्रवक्ताका अनुसार इन्धन कम्पनीहरूले हरेक मंगलबार सरकारलाई नयाँ तथ्यांक उपलब्ध गराउने र त्यसलाई बुधबार सार्वजनिक गर्ने व्यवस्था रहेको छ। त्यसअनुसार इन्धन भण्डारणसम्बन्धी अर्को अपडेट मार्च १८ बुधबार सार्वजनिक गरिने जनाइएको छ।
सरकारले अन्तर्राष्ट्रिय परिस्थितिले न्युजिल्याण्डको ऊर्जा आपूर्ति तथा मूल्यमा असर पार्न सक्ने भएकाले अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।


