पुर्व प्रधानमन्त्री, लेबर नेता क्रिस हिप्किन्समाथि पूर्वपत्नीको आरोप – New Zealand News Nepal (NZ News Nepal)

पुर्व प्रधानमन्त्री, लेबर नेता क्रिस हिप्किन्समाथि पूर्वपत्नीको आरोप

   March 18, 2026  

न्युजिल्याण्डको प्रमुख प्रतिपक्षी दल लेबरका नेता क्रिस हिप्किन्सका पूर्वपत्नी जेड पलले सामाजिक सञ्जालमा आफ्ना वैवाहिक सम्बन्धबारे केही व्यक्तिगत दाबी सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। तर हिप्किन्सले ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

ब्रिटेनमा जन्मिएकी सार्वजनिक सेवामा कार्यरत जेड पॉलले सामाजिक सञ्जालमा गरेको पोस्टमा लेबर पार्टीको चुनावी मुद्दा स्वास्थ्य, आवास र रोजगारीको सन्दर्भ उल्लेख गर्दै आफूहरू सँगै रहेका समयका केही कथित घटनाबारे दाबी गरेकी थिइन्। उनले शक्ति र प्रभाव भएका पदमा रहेका पुरुषहरूको व्यवहारबारे पनि आलोचना गरेकी छन्।

हिप्किन्सले छोटो वक्तव्य जारी गर्दै आफूविरुद्ध लगाइएका आरोपहरू “पूर्ण रूपमा अस्वीकार” गरेको बताएका छन्।

हिप्किन्स र पलले सन् २०२० मा वेलिङ्टनस्थित प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहमा विवाह गरेका थिए। उक्त समारोहमा तत्कालीन अर्थ मन्त्री ग्रान्ट रोबर्ट्सन ‘बेस्ट म्यान’का रूपमा सहभागी भएका थिए भने तत्कालीन प्रधानमन्त्री जसिण्डा आर्डर्न पनि उपस्थित थिइन्।

सन् २०२३ जनवरीमा, आर्डर्नले पद त्याग गरेपछि प्रधानमन्त्री बनेका हिप्किन्सले आफू र पत्नी एक वर्षअघि नै अलग बस्ने निर्णय गरेको सार्वजनिक गरेका थिए। उनले त्यसबेला आफ्ना सन्तानलाई सँगै मिलेर हुर्काउने निर्णय भएको र परिवारको हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको बताएका थिए।

त्यसै वर्ष आमनिर्वाचनको परिणाम सार्वजनिक हुँदै गर्दा लेबर पार्टीको पराजय स्वीकार गर्ने क्रममा हिप्किन्सले आफू नयाँ सम्बन्धमा रहेको घोषणा गरेका थिए। पछि उनले आफ्नो नयाँ साथी टोनी ग्रेससँग सम्बन्धमा रहेको पुष्टि गरेका थिए। उनीहरू करिब एक दशकअघि भेटिएका थिए, जब ग्रेस रेमुटाका निर्वाचन क्षेत्रका सांसदको कार्यालयमा इन्टर्नका रूपमा कार्यरत थिइन्। पछि नोभेम्बर महिनामा ग्रेसको ४०औँ जन्मदिनको अवसरमा उनीहरूबीच ईङ्ग्गेज्मेण्ट भएको पनि पुष्टि गरिएको थियो।