इन्धन मूल्यवृद्धि: कम आम्दानी भएका परिवारलाई न्युजिल्याण्ड सरकारले हप्तामा थप ५० डलर दिने – New Zealand News Nepal (NZ News Nepal)

इन्धन मूल्यवृद्धि: कम आम्दानी भएका परिवारलाई न्युजिल्याण्ड सरकारले हप्तामा थप ५० डलर दिने

   March 24, 2026  

न्युजिल्याण्ड सरकारले कम आम्दानी भएका काम गर्ने सन्तान भएका परिवारलाई राहत दिने उद्देश्यले हप्तामा अतिरिक्त ५० डलर उपलब्ध गराउने घोषणा गरेको छ।

अर्थ मन्त्री निकोला विलिस ले आज जानकारी दिँदै, आगामी अप्रिल ७ देखि करिब १ लाख ४३ हजार बालबालिका भएका कामदार परिवारहरूले “इन–वर्क ट्याक्स क्रेडिट” मार्फत हप्तामा थप ५० डलर पाउने बताइन्।

यस योजनाले करिब १४ हजार नयाँ परिवारलाई समेत समेट्नेछ, जसले घट्दो दर का आधारमा यो सुविधा प्राप्त गर्नेछन्।

सरकारका अनुसार यो अस्थायी वृद्धि एक वर्षसम्म वा ९१ पेट्रोलको मूल्य लगातार चार हप्ता प्रति लिटर ३ डलरभन्दा तल झरेसम्म जुन पहिला आउछ त्यहि अनुसार कायम रहनेछ।

अर्थ मन्त्री विलिसले सरकारले यस निर्णयलाई तीव्र रूपमा कार्यान्वयन गर्ने बताईन । भोलि संसदमा रहेको करसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव पेश गरिनेछ, जसले यी परिवर्तनहरू अप्रिल १ देखि लागू गर्न बाटो खोल्नेछ।

सरकारले अधिकांश योग्य परिवारले कुनै अतिरिक्त प्रक्रिया नगरी नै यो रकम पाउने जनाएको छ। हप्तामा भुक्तानी लिने परिवारले अप्रिल ७ देखि र दुई हप्तामा भुक्तानी लिनेहरूले अप्रिल १४ देखि सो रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन्।

अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि विश्वभर इन्धन बजारमा ठूलो उथलपुथल देखिएको छ। यसको असर न्युजिल्याण्डमा समेत देखिँदा केही स्थानहरूमा पेट्रोलको मूल्य प्रतिलिटर ४ डलरसम्म पुगेको छ।

सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् कि, युद्ध आजै अन्त्य भए पनि इन्धनको मूल्य अझै करिब १०० दिनसम्म उच्च नै रहने सम्भावना छ। पछिल्लो एक महिनामा डिजेलको मूल्य प्रतिलिटर १ डलरभन्दा बढीले बढेको Gaspy का तथ्याङ्कले देखाएको छ।

सरकारले इन्धन अभाव नभएको र थप आपूर्ति आउने क्रममा रहेको दाबी गरेको छ। तर, अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा समस्या देखिँदा मूल्यमा दबाब कायम रहने संकेत देखिएको छ।