न्युजिल्याण्डको मौसम सेवा मेट सर्भिसले नर्थ आईल्याण्ड क्षेत्रमा अत्यन्तै प्रभावकारी वर्षा हुने चेतावनी दिएको छ। विशेषगरी काइकोहेको पूर्वी क्षेत्र, डाउटलेस बेदेखि व्हाङ्गारेईसम्म बुधबार दिउँसो ३ बजेदेखि शुक्रबार बिहान ४ बजेसम्म ३२० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मौसम विभागले यसलाई “उच्च प्रभाव पार्ने” मौसमीय घटना भन्दै नदीहरूमा खतरनाक बहाव, ठूलो बाढी र पहिरोको जोखिम रहेको जनाएको छ। यसले यात्रामा अवरोध ल्याउने, कतिपय सडक अवरुद्ध बनाउने तथा केही बस्तीहरू पूर्ण रूपमा अलग हुन सक्ने चेतावनी दिइएको छ।
नर्थ आईल्याण्डका अन्य भागहरूमा १५० देखि २५० मिलिमिटरसम्म वर्षा हुने अनुमानसहित चेतावनी जारी गरिएको छ। मौसमविद्हरूले यो चेतावनी जोखिम स्तरमा स्तरोन्नति हुने उच्च सम्भावना रहेको बताएका छन्।
बिहीबार दिउँसो क्षेत्रमा मेघगर्जनसहितको वर्षा पनि हुन सक्ने बताइएको छ। त्यस्तै ग्रेट ब्यारियर आइल्याण्ड, अकल्याण्डको व्हाङ्गापाराओआदेखि उत्तरतर्फ र कोरोमण्डल प्रायद्वीपमा पनि बिहीबार बिहानदेखि शुक्रबारसम्म भारी वर्षाको सुन्तला चेतावनी लागू गरिएको छ।
बे अफ प्लेन्टीको व्हाकाटानेको पश्चिम क्षेत्रमा बिहीबार बिहान ९ बजेदेखि शनिबार बिहान ३ बजेसम्म २५० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान छ।
यसका साथै नर्थ आईल्याण्डमा बुधबार राति ९ बजेदेखि बिहीबार राति ११ बजेसम्म तथा अकल्याण्ड र ग्रेट ब्यारियर आइल्याण्डमा बिहीबार बिहान ८ बजेदेखि शुक्रबार बिहान १ बजेसम्म तीव्र हावाको चेतावनी पनि जारी गरिएको छ।
साउथको तस्मान क्षेत्रमा मोटुएका पश्चिमतर्फ बिहीबार बिहानदेखि शुक्रबार दिउँसोसम्म र रिचमण्ड तथा ब्रायन्ट रेञ्ज क्षेत्रमा बिहीबार साँझदेखि शुक्रबार दिउँसोसम्म भारी वर्षाको चेतावनी लागू गरिएको छ।
मौसमविद् Silvia Martino का अनुसार यो लामो समयसम्म चल्ने मौसम प्रणाली भएकाले प्रभाव क्रमशः बढ्दै जानेछ। उनले स्थानीय निकायसँग समन्वय गरी आवश्यक परे रातो चेतावनी जारी गर्ने निर्णय गरिने बताइन्।
उनले सर्वसाधारणलाई बाढीको पानीबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न, घरका नाली सफा राख्न र हावाले उडाउन सक्ने वस्तुहरू सुरक्षित राख्न आग्रह गरेकी छन्।


