न्युजिल्याण्डको सत्तारूढ गठबन्धन सरकारअन्तर्गत नेशनल पार्टीले आफ्नो पहिलो दुई बजेट (२०२४ र २०२५) मार्फत झण्डै ४४ बिलियन डलर बराबरको बचत गरिएको दाबी गरेको छ। अर्थमन्त्री निकोला विलिसले बहुवर्षीय बचत योजना लागू गर्दै कर कटौती र सार्वजनिक सेवा सुधारका लागि आवश्यक स्रोत जुटाइएको बताएकी छन्।
सन् २०२५ को बजेटमा मात्र आगामी चार वर्षका लागि १२.८ बिलियन डलर बराबरको “फिस्कल हेडरूम” सिर्जना भएको जनाइएको छ। यो मुख्यतः तलब समानता (पे इक्विटी) प्रणालीलाई कडाइका साथ पुनर्संरचना गरिएकाले सम्भव भएको बताइएको छ।
यसअघि सन् २०२४ को बजेट र त्यसअघि ल्याइएका निर्णयहरूबाट करिब ४ बिलियन डलर बराबरको बचत, खर्च कटौती तथा पुनःप्राथमिकता निर्धारण गरिएको थियो। त्यसमध्ये “मिनी बजेट” मार्फत वार्षिक ७७५ मिलियन डलर कटौती र सरकारी विभागहरूको आधारभूत खर्चमा वार्षिक १.५ बिलियन डलर कटौती गरिएको थियो।
सरकारले जनाएको अनुसार, सबैभन्दा ठूलो बचत तलब समानता योजनामा गरिएको परिवर्तनबाट हुने अपेक्षा गरिएको छ, जसबाट ११ देखि १२.८ अर्ब डलरसम्म बचत हुने अनुमान गरिएको छ। त्यस्तै, किवीसेभरमा सरकारी योगदान आधा घटाउँदा आगामी चार वर्षमा करिब ३ अर्ब डलर बचत हुने देखिएको छ।
यसका साथै सार्वजनिक सेवा निकायहरूमा ६.५ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म खर्च कटौती गर्ने लक्ष्य राखिएको छ भने १८–१९ वर्ष उमेर समूहका लागि सामाजिक सहायता (बेनेफिट) सम्बन्धी परिवर्तनबाट सन् २०२७ देखि वार्षिक ८४ मिलियन डलर बचत हुने प्रक्षेपण गरिएको छ।
सरकारका अनुसार यी सबै बचत मुख्यतः आयकर घटाउने योजनालाई कार्यान्वयन गर्न तथा स्वास्थ्य र शिक्षा जस्ता अग्रपंक्तिका सेवामा लगानी बढाउनका लागि गरिएको हो।


