न्यजिल्याण्डका महासागर तथा मत्स्यपालन मन्त्री तथा न्यूजील्याण्ड फर्स्ट पार्टीका सदस्य शेन जोन्सले भारतसँग प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement) सम्बन्धी दिएको अभिव्यक्तिले अहिले देशभर विवाद सिर्जना गरेको छ। उनले उक्त सम्झौता भएमा “बटर चिकेन सुनामी” आउने टिप्पणी गरेका थिए, जसलाई धेरैले आपत्तिजनक र असंवेदनशील भन्दै आलोचना गरेका छन्।
जोन्सको उक्त भनाइ भारतसँगको व्यापार सम्झौतापछि न्युजिल्याण्डमा आप्रवासीको संख्या बढ्न सक्ने संकेतका रूपमा लिइएको छ। उनले मजाकको शैलीमा दिएको अभिव्यक्ति भए पनि यसले विशेषगरी भारतीय समुदायप्रति लक्षित टिप्पणीजस्तो देखिएको भन्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रतिक्रिया आएको छ।
विभिन्न समुदायका अगुवा तथा विश्लेषकहरूले यस्तो टिप्पणीले बहुसांस्कृतिक समाजमा नकारात्मक सन्देश जाने बताएका छन्। उनीहरूले नेताहरूले सार्वजनिक रूपमा बोल्दा संवेदनशीलता र जिम्मेवारी अपनाउनुपर्नेमा जोड दिएका छन्।
यता, केही राजनीतिक व्यक्तिहरूले भने जोन्सको भनाइलाई सन्दर्भबाट अलग गरी अतिरञ्जित गरिएको दाबी गरेका छन्। उनीहरूका अनुसार व्यापार सम्झौताबारे भइरहेको बहसलाई गलत ढंगले व्याख्या गरिएको हो।
न्युजिल्याण्ड र भारतबीच लामो समयदेखि प्रतिक्षामा रहेको स्वतन्त्र व्यापार सम्झौता अप्रिल २७ मा औपचारिक रूपमा हस्ताक्षर हुने भएको छ।


